टिकटकमार्फत मेचीनगरका मेयरको चरित्र हत्या — साइबर ब्यूरोमा उजुरी

 

मेचीनगर, साउन 
मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको चरित्र हत्या गरिएको आरोपमा साइबर ब्यूरोमा उजुरी दर्ता भएको छ।

नगरप्रमुख बुढाथोकीका स्वकीय सचिव आशिष पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै टिकटकमा ‘मिसन २०८४ इलेक्सन’ लगायतका फेक नाम र प्रोफाइलमार्फत नगरप्रमुखको नाम र फोटो दुरुपयोग गर्दै दुष्प्रचार गरिएको जनाएका छन्। उनका अनुसार, सो फेक आइडीमार्फत मालपोत, भन्सार, बस खरिदजस्ता असान्दर्भिक र नगरपालिकाको कार्यक्षेत्रसँग सम्बन्धित नभएका विषयहरू कपोलकल्पित रूपमा प्रस्तुत गरिएको छ।

विज्ञप्तिमा दुष्प्रचार गर्ने व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्यूरोमा प्रक्रिया अघि बढाइएको उल्लेख छ। साइबर ब्यूरोले उजुरी दर्ता गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको र डिजिटल प्रमाण संकलन भइरहेको बुझिएको छ।

सचिवालयले फेक आइडी सञ्चालन गर्ने व्यक्तिलाई सार्वजनिक रूपमा प्रस्तुत हुन चुनौती दिएको छ। पछिल्ला दिनमा टिकटक र फेसबुकमार्फत मेचीनगरसहित बिर्तामोड, दमक, उर्लाबारी, इनरुवा लगायतका नगरपालिकाका प्रमुखहरूमाथि लाञ्छना लगाउँदै भिडियोहरू सार्वजनिक भइरहेका छन्।

नगरप्रमुख बुढाथोकीको सचिवालयले यस्ता गतिविधिलाई योजनाबद्ध चरित्र हत्या भनेको छ र स्थानीय तहका जनप्रतिनिधिमाथि फैलाइने भ्रामक सामग्रीविरुद्ध सचेत रहन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array