बिर्तामोड, झापा – डिजिटल प्रविधिको द्रुत विस्तारसँगै समाजमा थप सुरक्षा चुनौतीहरू देखिन थालेको झापा प्रहरीले जनाएको छ।
नेपाल पत्रकार महासंघ महिला विभाग र नारी सञ्चार गृहले आज बिर्तामोडमा आयोजना गरेको डिजिटल सुरक्षा कार्यशालालाई सम्बोधन गर्दै प्रहरी नायब उपरीक्षक तथा झापा प्रहरीका प्रवक्ता खगेन्द्र बहादुर खड्काले अनियन्त्रित डिजिटल प्रयोगले धेरैलाई जोखिममा पारेको बताए।

उनका अनुसार सामाजिक सञ्जाल, अनलाइन गेम, डिजिटल ठगी, व्यक्तिगत विवरण चोरी, ब्ल्याकमेलजस्ता अपराध बढ्दै गएको छ। उनले भने—
“डिजिटल प्रविधिको फाइदा जति धेरै छ, दुरुपयोग गरेमा जोखिम पनि त्यति नै उच्च छ। धेरै नागरिक अनलाइनमा कसकसले हेर्दैछ, कसले पछ्याइरहेको छ भन्ने नबुझेर जोखिममा परिरहेका छन्।”
सोही कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले महिला तथा बालिकामाथि डिजिटल माध्यमबाट भइरहेका अपराधका घटनाले प्रशासन चिन्तित भएको बताए।
उनले भने—
“डिजिटल हिन्सा अहिलेको नयाँ स्वरूप हो। हाम्रा परिवारका सदस्य, विशेषगरी महिलाहरू सुरक्षित रहून् भने डिजिटल साक्षरता अनिवार्य छ। प्रशासन सम्भव भएसम्म कानुनी कारबाही कडाइका साथ अघि बढाइरहेको छ।”
गेलालले नागरिकले सजग भएर निजी विवरण सुरक्षित राख्ने, अनजान व्यक्तिसँग सम्पर्कमा नजाने र डिजिटल माध्यममा प्राप्त शंकास्पद सामग्री तुरुन्त सम्बन्धित संस्थामा जानकारी गराउन आग्रह गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारी, महासंघ कोशी प्रदेश सदस्य राजकुमार ओली, झापा शाखा अध्यक्ष एकराज गिरी लगायतका अग्रज सञ्चारकर्मीहरूले पछिल्लो समय देखिएको चुनौतीलाई सबै मिलेर समाधान गर्नुपर्ने सुझाव राखेका थिए।
१६ दिने महिला हिंसा विरुद्धको अभियानअन्तर्गत आयोजित कार्यक्रममा सहभागीहरूले डिजिटल सुरक्षा, अनलाइन हिन्सा, सोशल मिडिया सुरक्षित प्रयोग, तथ्य–जाँच (fact-check) र साइबर अपराध सम्बन्धी विषयमा छलफल गरेका थिए।





