त्रासदीपूर्ण अवस्था सिर्जना भएको भन्दै एफोन नेपालले गर्‍यो दुःख व्यक्त

काठमाडौं, २९ भदौ 
हालै देशभरि भइरहेका जनआन्दोलन, आगजनी तथा तोडफोडका घटनाले त्रासदीपूर्ण अवस्था सिर्जना भएको भन्दै पारिवारिक निजी वन संघ, नेपाल (AFFON) ले गहिरो दुःख व्यक्त गरेको छ। संघका केन्द्रीय अध्यक्ष जोगराज गिरीले आइतबार विज्ञप्ति जारी गर्दै मानवीय क्षति, मृतक परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

विज्ञप्तिमा काठमाडौंलगायत विभिन्न स्थानमा भएका घटनाले आमजनमानसमा ठूलो क्षति पुगेको उल्लेख गर्दै संघले पूर्ण शान्तिपूर्ण प्रदर्शनमा जोड दिएको छ। साथै, हिंसात्मक गतिविधिबाट प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्‍याउन आग्रह गरिएको छ। अध्यक्ष गिरीले घटनामा संलग्न दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न माग गर्दै नागरिकको जीवनरक्षा पहिलो दायित्व हो भन्ने कुरामा सरकारलाई सचेत गराएको केन्द्रीय न्यायिक तथा अअनुशासन आयोग सदस्य राजकुमार ओलीले बताए ।

संघले हाल देखिएका चुनौतीपूर्ण अवस्थाले वातावरणीय क्षेत्रमा समेत असर पारेको उल्लेख गर्दै वन क्षेत्रमा भइरहेको क्षति, चोरी, निकासी तथा अवैध गतिविधिबारे गम्भीर चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यस्तो संवेदनशील अवस्थामा संघका सदस्य, जिल्ला अध्यक्ष, प्रदेश संयोजक र सम्बन्धित निकायले तत्काल केन्द्रीय कार्यालयलाई जानकारी गराउनुपर्ने आवश्यकता छ।”

संघले शान्ति, स्थायित्व र कानूनी शासनलाई बलियो बनाउन सबै सरोकारवालालाई सहयोग र सहकार्यको अपील गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array