दमकमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण अभियान सुरु, उद्योग वाणिज्य संघबाट पाँच लाख सहयोग

 

राजकुमार ओली,दमक, भदौ २७,
जेनेरेसन–जेड (जेनजी) आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका सरकारी तथा निजी भवनहरूको पुनर्निर्माण कार्यलाई गति दिने उद्देश्यले दमक उद्योग वाणिज्य संघले अग्रसरता लिएको छ । संघले इलाका प्रहरी कार्यालय दमकको भवन पुनःनिर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गर्दै स्थानीय समुदायलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको छ ।

संघका अध्यक्ष गोपाल गुरागाईंले आन्दोलनका क्रममा प्रहरी कार्यालयका तीनवटा भवनमा ठूलो क्षति पुगेको स्मरण गर्दै, तत्काल पुनर्निर्माणको पहललाई अघि बढाउन व्यवसायी तथा स्थानीय संघ–संस्थाको सहयोग अपरिहार्य भएको बताउनुभयो । उहाँका अनुसार प्रहरी कार्यालयलाई बस्न योग्य बनाउने गरी नगरपालिकाका इन्जिनियर र प्राविधिकहरूको टोली परिचालन गर्ने तयारी भइरहेको छ ।

क्षति भएका प्रमुख संरचना

जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालय मात्र नभई आन्तरिक राजस्व कार्यालय दमक, दमक नगरपालिकाको मुख्य भवन, स्थानीय वडास्तरका कार्यालय, साथै निजी घरहरू समेत क्षति पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको निजि निवास, मेयर राम थापाको घर, पूर्व मेयर रोम ओलीको आवास र माओवादी नेता गगनपुरीको निवासमा समेत आन्दोलनकारीले तोडफोड र आगजनी गरेका थिए ।

यी घटनाले प्रशासनिक कामकाजदेखि स्थानीय जनप्रतिनिधिहरूको व्यक्तिगत सम्पत्तिसम्ममा असर पारेको छ । आन्तरिक राजस्व कार्यालयमा रहेका कागजात र अभिलेखहरूमा क्षति पुगेपछि कर प्रशासन असहज भएको छ भने नगरपालिकाको भवन क्षतिग्रस्त हुँदा सेवा प्रवाह प्रभावित बनेको छ । यस्तै, जनप्रतिनिधि र नेताहरूका आवासमा भएको क्षतिले राजनीतिक र सामाजिक स्तरमा समेत असुरक्षा र निराशा थपेको स्थानीय नागरिकले बताएका छन् ।

पुनर्निर्माण अभियानमा एकताको आवश्यकता

संघका अध्यक्ष गुरागाईंले प्रहरी कार्यालय पुनर्निर्माणलाई प्रारम्भिक कदमका रूपमा लिइए पनि अन्य संरचनाको पुनःस्थापनाका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । “यो केवल प्रहरी कार्यालयको मात्र विषय होइन, सम्पूर्ण शहरलाई पुनःजीवन दिने कुरा हो,” उहाँले भन्नुभयो, “दमक उद्योग वाणिज्य संघ मात्र होइन, नगरवासी सबैले आफ्नो क्षमता अनुसार योगदान गर्नुपर्छ ।”

दमक नगरपालिकाका मेयर राम थापाले समेत पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । उहाँले संघ–संस्थाको पहललाई स्वागत गर्दै नगरपालिका पनि प्राविधिक र प्रशासनिक सहयोगका लागि तयार रहेको स्पष्ट पार्नुभयो ।

व्यवसायी र नागरिकबाट सकारात्मक संकेत

दमकका व्यवसायी र नागरिक समाजका अगुवाहरूले पुनर्निर्माण अभियानमा सक्रिय भूमिका खेल्ने तयारी देखाएका छन् । स्थानिय व्यवसायीहरूले आर्थिक सहयोग जुटाउने पहल थालेका छन् भने नागरिक समाजका अगुवाहरूले श्रमदानमार्फत योगदान गर्ने आश्वासन दिएका छन् ।

पूर्व मेयर रोम ओलीले आफ्नो व्यक्तिगत आवासमा क्षति पुगे पनि सामूहिक पुनर्निर्माणलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ । “निजि क्षति भन्दा पनि सार्वजनिक सम्पत्तिको संरक्षण र पुनःस्थापना अहिलेको मुख्य आवश्यकता हो,” उहाँले भन्नुभयो ।

यस्तै, माओवादी नेता गगनपुरीले समेत आफ्ना पार्टी कार्यकर्तालाई सहयोग र पुनर्निर्माण अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ । उहाँले जनआन्दोलनका नाममा तोडफोड र आगजनी हुनु दुर्भाग्यपूर्ण भएको भन्दै त्यसको समाधान सामूहिक पहलमार्फत गर्नुपर्ने धारणा राख्नुभयो ।

आगामी योजना

दमकमा अहिले प्रारम्भिक रूपमा प्रहरी कार्यालयको भवन पुनःनिर्माण सुरु भए पनि नगरपालिकाले आन्तरिक राजस्व कार्यालय र अन्य क्षतिग्रस्त संरचना मर्मत गर्ने योजना बनाएको छ । तत्काल प्रयोगमा ल्याउन सकिने संरचनालाई सुदृढीकरण गरिने र पूर्ण रूपमा ध्वस्त भएका संरचनाको पुनर्निर्माण दीर्घकालीन योजनाअन्तर्गत गरिने जानकारी नगरपालिकाले दिएको छ ।

यस क्रममा उद्योग वाणिज्य संघ, व्यापारी महासंघ, विभिन्न गैरसरकारी संस्था तथा स्थानीय दाताहरूको सहयोग जुटाउने तयारी भइरहेको छ । स्थानीय इन्जिनियर र प्राविधिकको टोलीले क्षति मूल्यांकन गरिरहेको छ र त्यसकै आधारमा पुनर्निर्माणको विस्तृत योजना सार्वजनिक गरिने भएको छ ।

आशा र विश्वास

दमकका नागरिकहरूले सामूहिक प्रयास र एकताको माध्यमबाट शहरलाई छिट्टै पुरानै अवस्थामा फर्काउन सकिने विश्वास व्यक्त गरेका छन् । व्यवसायी, नागरिक अगुवा र राजनीतिक दलका प्रतिनिधिहरू एकै ठाउँमा उभिएको देखिएको छ, जसले पुनर्निर्माणलाई गति दिने अपेक्षा गरिएको छ ।

अध्यक्ष गुरागाईंले पुनर्निर्माण अभियानले केवल संरचनात्मक मात्र नभई सामाजिक र आर्थिक स्तरमा समेत नयाँ ऊर्जा दिने विश्वास व्यक्त गर्दै भन्नुभयो, “दमकले फेरि उठ्छ, हामी सबैको सहयोग र प्रतिबद्धताले यो शहरलाई अझ सबल बनाउनेछौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array