दमक नगरपालिकामा पहुँचयुक्त भौतिक संरचना कार्यान्वयनको माग गर्दै ध्यानाकर्षण पत्र ,

 

दमक, झापा ।
अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार सुनिश्चित गर्न दमक नगरपालिकाभित्र निर्माण हुने सम्पूर्ण भौतिक संरचना तथा सञ्चार सेवाहरू ‘पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका–२०६९’ अनुसार कार्यान्वयन गर्न माग गर्दै सम्बन्धित संघ–संस्थाहरूले दमक नगरपालिकाको ध्यानाकर्षण गराएका छन्।

संस्थाहरूले नगर प्रमुखलाई सम्बोधन गर्दै बुझाएको ध्यानाकर्षण पत्रमा नेपालको संविधानको अनुसूची–८, धारा ७५ को उपधारा ४, धारा २१४(२), धारा २२१(२) र धारा ३२६(१) बमोजिम स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने सम्पूर्ण सार्वजनिक भौतिक पूर्वाधारहरू पहुँचयुक्त हुनुपर्ने उल्लेख गरिएको छ। सोही अनुसार विगतमा पटक–पटक समन्वय समितिको बैठक, विभिन्न माध्यमबाट जानकारी गराउनुका साथै प्राविधिकहरूलाई तालिमको व्यवस्था गरिए पनि हालसम्म कुनै ठोस सुधार वा कार्यान्वयन नभएकोप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।

ध्यानाकर्षण पत्रमा आर्थिक वर्ष २०८२/०८३ मा दमक नगरपालिकाभित्र प्रस्तावित सम्पूर्ण योजनाहरू सार्वजनिक भौतिक संरचना तथा सञ्चार निर्देशिका–२०६९ अनुसार कार्यान्वयन गर्न अनुरोध गरिएको छ। साथै कार्यालयले आवश्यकता ठानेमा प्राविधिक, जनप्रतिनिधि तथा सम्बन्धित सबै सरोकारवाला पक्षहरूका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन संस्थाहरू तयार रहेको जनाइएको छ।

यदि उक्त माग अनुसार कार्यक्रमहरू कार्यान्वयन नभएमा अपाङ्गता अधिकारसँग सम्बन्धित सम्पूर्ण संस्थाहरू स्वतःस्फूर्त रूपमा चरणबद्ध आन्दोलनका कार्यक्रममा सहभागी हुन बाध्य हुने चेतावनी समेत दिइएको छ।

ध्यानाकर्षण पत्रमा दमक अपाङ्ग सहयोग समिति अध्यक्ष मनमाया तिम्सिना, पूर्वाञ्चल बहिरा संघका अध्यक्ष रमेश श्रेष्ठ, अटिजम ने सोसाइटी झापा अध्यक्ष रमेश रिजाल तथा AIPDDE का सचिव पुनम भुजेललगायतको हस्ताक्षर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array