झापा । ओली वंश समन्वय समितिद्वारा झापाको कन्काई नगरपालिकामा कुल मन्दिर निर्माणको प्रक्रिया औपचारिक रूपमा शुरु भएको छ। स्व. बद्री ओलीको स्मृतिमा उनका दाजु गोपाल ओलीले ३८ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागेको पगोडा शैलीको तीन तले कुल मन्दिरको आज एक विशेष समारोहबीच शिलान्यास गरिएको हो।
कन्काई नगरपालिका कार्यालय अगाडि रहेको ओलीवंश समन्वय समितिको जग्गामा आयोजित कार्यक्रममा ओली वंश समन्वय केन्द्रीय समितिका अध्यक्ष उमेश चन्द्र ओली तथा रुद्र–गौरी–अम्बिका प्रतिष्ठानका केन्द्रीय अध्यक्ष गंगा ओलीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो। मन्दिर निर्माणलाई ओली वंशकै गौरवको परियोजना मानिएको छ।
शिलान्यास समारोहमा पहिलो चरणमा कुलदेवता मन्दिर, दोस्रो चरणमा सभागृह, र तेस्रो चरणमा अन्य सामुदायिक तथा आध्यात्मिक संरचना निर्माण गरिने योजना सार्वजनिक गरिएको छ। समितिको दीर्घकालीन लक्ष्य भने ‘‘ओली वंशका सबै पुस्ता एक ठाउँमा जोडियोस्, चिन्तन–संस्कृति जोगियोस्’’ भन्ने रहेको बताइएको छ।
कार्यक्रममा बोल्दै समितिका पदाधिकारीले मन्दिर निर्माणले वंश मात्र होइन, कन्काई नगरक्षेत्रको सामुदायिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे। मन्दिर, सभागृह र आवास क्षेत्र निर्माणपछि यस स्थानलाई ‘‘वंशीय तथा धार्मिक गन्तव्य’’का रूपमा विकास गर्ने योजना पनि प्रस्तुत गरिएको छ।
निर्माणका लागि महत्वपूर्ण सहयोग घोषणा हुँदै गइरहेका छन्। मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख उमा ओलीले ५ लाख रुपैयाँ, भने समिति झापाका अध्यक्ष भवानी ओलीले ३ लाख रुपैयाँ र आसामका स्वरूप ओलीबाट२५ हजार सहयोग घोषणा गर्नुभएको छ। अन्य दाताहरूबाट पनि सहयोग आउने विश्वास आयोजकहरूले व्यक्त गरे।
समितिका उपाध्यक्ष निरज ओलीका अनुसार, कन्काई जाममुबारिकाकी देवी ओलीलगायतको परिवारबाट पाँच कठ्ठा जग्गा निशुल्क प्राप्त भएपछि निर्माण कार्य सहज र सम्भव भएको हो। ‘‘जग्गा उपलब्ध भएपछि अब यस क्षेत्रलाई व्यवस्थित, आकर्षक र धार्मिक–सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने ढोका खुलेको छ,’’ उपाध्यक्ष ओलीले बताए।
समारोहमा स्थानीय जनप्रतिनिधि, विभिन्न सामाजिक संघ–संस्था, महिलाहरू, युवाहरू र Oli वंशका प्रतिनिधिहरूले उपस्थिति जनाएका थिए। सहभागीहरूले कुल मन्दिर मात्र होइन, यस परिसरलाई वंशीय मेलमिलाप र सांस्कृतिक अभ्यासको एक स्थायी केन्द्रको रूपमा विकसित गर्नुपर्ने धारणा राखे।
कार्यक्रमको अन्त्यमा आयोजक समितिले निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि सम्पूर्ण समुदायसँग सक्रिय सहयोगको अपील गरेको थियो। ‘‘हामी सबैको साझा गन्तव्य, साझा पहिचान र साझा संस्कृतिको प्रतीकका रूपमा यस मन्दिरलाई गौरवमय रूपमा उभ्याउने लक्ष्यका साथ अघि बढिरहेका छौँ,’’ समितिले विज्ञप्तिमा उल्लेख गरेको छ।





