मेचीनगर, साउन २३, पूर्व खबर
मेचीनगर नगरपालिकाका उत्तरी गाउँबस्तीहरूमा पछिल्ला दिनमा ‘दुले चोर’ को आतंक बढ्दै गएको छ।
दैनिकजसो चोरीका घटना हुन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।
गत राति मात्रै स्थानीय पदम खनालको घरबाट चोरले दराज नै बोकेर लगेको छ। दराजभित्र भएको नगद पैसा चोरेर चोरले बाकस करिब २०० मिटर तल बारीमा छाडेको पाइएको छ। ‘नाम्लो लगाएर दराजै उठाएर लगेको देख्दा त हैरान छौं’, पीडित खनालले भने।
चोरीको शैली नयाँ देखिन थालेको छ। चोरहरू घरका टेबुल, दराज, लकबक्स जस्ता सामान नै बोकेर लैजाने र एकान्त ठाउँमा लगेर फोरेर नगद तथा अन्य मूल्यवान वस्तु चोरेर बाँकी सामान त्यहीँ छाड्ने गरेका छन्। स्थानीय अगुवा देबु बानियाका अनुसार, यस्तो शैलीले गाउँमा अझ ठूलो भय सिर्जना गरेको छ।
मेची नगरका उत्तरी क्षेत्र र इलामको रोङका दक्षिण क्षेत्रहरूमा पछिल्ला तीन महिनामा आधा दर्जनभन्दा बढी घरमा चोरी भएको स्थानीयहरूको भनाइ छ।
वडा नं. ४ का वडा अध्यक्ष अर्जुन कार्कीले चोरीका घटनाले आफूहरू पनि चिन्तित भएको बताए। ‘प्रहरीसँग समन्वय गरेर अनुगमन बढाउने काम भइरहेको छ’, उनले भने। मेचीनगर दुई का वडा अध्यक्ष दिपक बरालले गाउँमा ‘डेक्चा टिप्ने चोर’ को चर्चा चलेपनि यस्ता चोरको ट्र्याक गर्न समय लाग्ने बताए।
चोरी न्यूनीकरणका लागि गाउँमा सुरक्षा बत्ती जडान, राति गस्ती सशक्त बनाउने, सीसीटीभी राख्ने, टोल सतर्कता समूह बनाउनेजस्ता योजना तयार गरिँदै छ।
यसैबीच, इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पनि चोरीको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ। ‘हामी अनुसन्धानको चरणमा छौं, केही प्रमाण संकलन भएका छन्’, एक प्रहरी अधिकृतले बताए।
स्थानीय बासिन्दाहरूले चोरी नियन्त्रणका लागि स्थायी प्रहरी चौकी माग गरेका छन्।





