नेकपा एमाले बिर्तामोडद्वारा वडाध्यक्ष कार्कीमाथि अनुशासन कारबाहीको माग

झापा, १६ साउन पूर्वखबर

नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीमाथि अनुशासन कारबाही गर्न माग गर्दै कडा आपत्ति जनाएको छ। नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलामाथि भएको अभद्र व्यवहारप्रति भर्त्सना गर्दै एमालेले सार्वजनिक विज्ञप्ति जारी गर्दै सो माग अघि सारेको हो।

बुधबार बिर्तामोड नगरपालिकाको कार्यालय परिसरभित्रै वडाध्यक्ष कार्कीले उपप्रमुख संग्रौलासँग वादविवाद गर्दै कार्यकक्षमै प्रवेश गरी गालीगलौज तथा आक्रोशपूर्ण व्यवहार गरेको आरोप लागेको छ। नेकपा एमालेले वडाध्यक्ष कार्कीको उक्त व्यवहारलाई “निन्दनीय, अशोभनीय र भर्त्सना योग्य” ठहर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

“दुई जनप्रतिनिधिबीच कुनै विषयमा मतभेद वा अन्तरविरोध भए त्यसलाई संवादमार्फत समाधान गर्नुको सट्टा सार्वजनिक पदको मर्यादा विपरीत प्रस्तुत हुनु अस्वीकार्य छ,” विज्ञप्तिमा भनिएको छ।

वडाध्यक्ष कार्कीले सामाजिक सञ्जालमार्फत उपप्रमुख संग्रौलामाथि नक्कली नागरिकता बनाएको आशयको टिप्पणी गरेको विषयलाई लिएर विवाद चर्किएको थियो। सामाजिक सञ्जालमा गरिएको उक्त टिप्पणीको प्रतिक्रिया स्वरूप कार्की उपप्रमुखमाथि आक्रोशित हुँदै कार्यालयमै पुगेको र त्यहाँ भनाभन, चर्काचर्की भएको प्रत्यक्षदर्शीले जनाएका छन्।

विवादको क्रममा नगर प्रहरी, नेपाल प्रहरी तथा कार्यालय कर्मचारीहरूबीच झगडा नियन्त्रणमा लिन प्रयास गरिएको थियो। एमालेले सार्वजनिक वा निजी स्थानमा हुलहुज्जत, गुण्डागर्दी वा कानुन हातमा लिने प्रवृत्तिको विरोध गर्दै संलग्न सबै पक्षलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरेको छ।

उक्त घटनाको पृष्ठभूमिमा विगतमा वडाध्यक्ष कार्कीमाथि नागरिकताको विषयमा मुद्दा चलिरहेको र त्यही विषय फेरि सामाजिक सञ्जालमा चर्चामा आएपछि उनी आक्रोशित बनेको बताइएको छ।

एमालेले सबै जनप्रतिनिधिलाई सामाजिक सञ्जालमा मर्यादित रहन, जनताको सेवामा समर्पित हुन र आ–आफ्नो पदको गरिमा कायम राख्न आग्रहसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array