नेपालमा अमेरिकाले गर्यो ५५ करोड डलर सहयोग

 

राजकुमार ओली,काठमाडौं, ३ मंसिर ।(पूर्व खबर)
एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनलाई थप सुदृढ बनाउन अमेरिकाले अतिरिक्त ५ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ। नेपाल सरकार र अमेरिकी सरकार बीच भएको सहकार्यअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालका लागि सम्झौतामा अतिरिक्त अनुदान उपलब्ध गराउने घोषणा गरेको हो।

नेपालस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको विवरणअनुसार यसअघि रहेको कुल रकममा पाँच करोड डलर थपिएसँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत उपलब्ध कुल सहायता ७४ करोड ७० लाख अमेरिकी डलर पुगेको छ। सोमध्ये अमेरिकाबाट ५५ करोड डलर र नेपाल सरकारले १९ करोड ७० लाख डलर बराबरको योगदान रहनेछ।
दूतावासले दिएको जानकारीअनुसार नयाँ थपिएको रकमले विद्युत् प्रसारण पूर्वाधार विस्तार, ऊर्जा प्रणाली सुदृढीकरण तथा क्षेत्रीय ऊर्जा व्यापार विस्तारसम्बन्धी योजनाहरूलाई थप प्रभावकारी बनाउनेछ।

एमसीसी कम्प्याक्टले नेपालको प्राथमिकतामा रहेको प्रसारण लाइन निर्माण, सब–स्टेशन विस्तार तथा आधुनिक प्रविधिमा आधारित ग्रिड व्यवस्थापन प्रणाली निर्माणलाई लक्ष्य राखेको छ। हाल निर्माणाधीन ४ सय केभी प्रसारण लाइन तथा सम्बन्धित सब–स्टेशनहरूलाई निर्धारित समयमै गुणस्तरीयरूपमा सम्पन्न गर्न अतिरिक्त स्रोतले महत्त्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

दूतावासका अनुसार ऊर्जा ग्रिडको विश्वसनीयता वृद्धि, विद्युत् प्रवाहको स्थायित्व, तथा भोल्टेज व्यवस्थापन सुधार जस्ता विषयमा अमेरिकी प्राविधिक अनुभव र असल अभ्यास नेपालमा लागू गरिनु यो सम्झौताका प्रमुख उपलब्धि हुनेछन्। अमेरिकी पक्षले ऊर्जा पूर्वाधार विस्तारमार्फत नेपालको ऊर्जा व्यापारको सम्भावनालाई क्षेत्रीय रूपमा जोड्ने लक्ष्य राखेको छ।

विद्युत् व्यापारमा भारतसँगको क्षमता विस्तार हुँदै गएको र बंगलादेशलगायत अन्य क्षेत्रीय बजारमा पनि ऊर्जा निर्यात गर्ने आधार बन्दै गएको उल्लेख गर्दै दूतावासले एमसीसीले त्यस सम्बन्धमा आवश्यक पूर्वाधार निर्माणमा दीर्घकालीन योगदान पुर्‍याउने जनाएको छ। ऊर्जा निर्यातका लागि आवश्यक प्रसारण मार्ग विस्तार भएसँगै नेपालमा जलविद्युत् उत्पादनमा निजी तथा वैदेशिक लगानी आकर्षित हुने अपेक्षा पनि दूतावासले व्यक्त गरेको छ।

सम्झौता अन्तर्गत अमेरिकी प्रविधि, उपकरण तथा इन्टिग्रेटेड ग्रिड सिस्टममा अनुभव भएका कम्पनीहरूको प्रवेश नेपालमा बढ्ने दूतावासको भनाइ छ। यसले ऊर्जा क्षेत्रको दक्ष जनशक्ति विकास, प्राविधिक हस्तान्तरण तथा भविष्यमा होने विद्युत् व्यापारका लागि आवश्यक पूर्वाधार व्यवस्थापनमा मद्दत गर्ने विश्वास गरिएको छ।

नेपाल सरकारले ऊर्जा क्षेत्रलाई दीर्घकालीन आर्थिक विकासको आधार मान्दै आएको र प्रसारण पूर्वाधार विस्तारलाई अत्यावश्यक पूर्वशर्तका रूपमा लिँदै आएको बताइएको छ। देशभर उत्पादित विद्युत् सुरक्षित ढंगले प्रसारण हुने व्यवस्था गर्न, भोल्टेज ह्रास रोक्न, र भविष्यको विद्युत् आवश्यकतालाई समेट्ने विस्तृत ग्रिड संरचना निर्माणमा एमसीसी परियोजना महत्वपूर्ण हुँदै गएको सरकारी अधिकारीहरूको भनाइ छ।

अतिरिक्त ५ करोड डलर सहयोगसँगै परियोजनाको आर्थिक संरचना अझ सुदृढ बनेको र कार्यान्वयनका क्रममा देखा परेका आर्थिक तथा प्राविधिक चुनौती समाधान गर्न सहज हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

एमसीसी नेपाल कम्प्याक्ट २०७४ सालमा हस्ताक्षर भएको हो। प्रसारण लाइन, सब–स्टेशन विस्तार तथा सडक सुधार परियोजना यस सम्झौताका मुख्य अवयव हुन्। परियोजनाको समयसीमा पाँच वर्ष निर्धारण गरिएको छ।
सरकारले एमसीसी परियोजना देशको आर्थिक परिवर्तनमा महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्दै आएको छ। ऊर्जा प्रसारण पूर्वाधार निर्माणसँगै विद्युत् व्यापारको दायरा विस्तार भएर राष्ट्रिय आम्दानी वृद्धि हुने अपेक्षा सरकारले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array