पूर्व मुख्यमन्त्री राई भन्छन्– २०४६ सालपछि लाभका पदमा पुगेका सबैको सम्पत्ति छानबिन हुनुपर्छ

बिर्तामोड, २५ असोज

नेकपा एमालेका स्थायी समिति सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राईले २०४६ सालपछि लाभका पदमा पुगेका सबै नेता तथा कार्यकर्ताको नाम र सम्पत्ति विवरण सार्वजनिक गरी छानबिन गर्न एमाले तयार रहेको बताएका छन् ।

शनिबार झापामा सम्पन्न एमालेको सातौं जिल्ला पूर्ण बैठकलाई सम्बोधन गर्दै इञ्चार्ज राईले पार्टीले अनियमितता नगरेको स्पष्ट पार्दै भने, “हामी एमालेका नेता कार्यकर्ताले अनियमितता गरेका छैनौं । सरकारमा पुगेका हौं तर राज्यका अन्य अंगहरूको पुनर्संरचना गर्न नसक्दा अहिलेको समस्या देखिएको हो ।”

उनले अहिलेको संसदलाई ‘कोमा’मा रहेको अभिव्यक्ति दिँदै वर्तमान सरकारलाई कठपुतली सरकारको संज्ञा दिए । उनका अनुसार यस्तो सरकारले निर्वाचन गराउने इच्छा नराखेकाले संसद पुनःस्थापनाको कुनै विकल्प बाँकी छैन । राईले देशको राजनीतिक अस्थिरताको मूल कारण सत्तामा रहेका दलहरूको स्वार्थपरक सोच भएको आरोप पनि लगाए ।

बैठकमा एमाले स्थायी समिति सदस्य एवम् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र भइरहेको आरोप लगाउँदै एमालेका नेता–कार्यकर्ताले जनतालाई सचेत बनाउन अग्रसर हुनुपर्ने बताए । “हामी सबैले देशभक्तिपूर्वक एकताबद्ध भएर षड्यन्त्रकारी तत्वको सामना गर्नुपर्छ,” मुख्यमन्त्री कार्कीले भने ।

त्यसैगरी, पार्टीका कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीले एमाले नेतृत्वमाथि भइरहेको प्रहारको प्रतिवाद गर्दै पार्टी संगठन सुदृढीकरणमा जोड दिनुपर्ने बताए । बैठकमा जिल्ला अध्यक्ष प्रेम गिरीले अबको कार्यक्रमका बारेमा विस्तृत जानकारी दिएका थिए ।

बैठकले असोज २७ गते नेकपा एमालेका युवा र विद्यार्थी संगठनको अगुवाइमा झापाको सदरमुकाम चन्द्रगडीमा विरोध प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array