लालबन्दी, २४ वैशाख – राजनीतिमा समर्पण, आस्था र विचारप्रतिको प्रतिबद्धता केवल भाषण र नारामा मात्रै सीमित नहोस् भन्ने उदाहरण बनेका छन् लालबन्दी नगरपालिका– सर्लाहीका एमाले अध्यक्ष उज्वल कार्की। उनले आफ्नै शरीरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ट्याटु खोपेर राष्ट्रवादप्रतिको श्रद्धा र पार्टीप्रतिको निष्ठा प्रदर्शन गरेका छन्।
“ओलीजी मेरो लागि केवल नेता होइनन्, उनी नेपाली स्वाभिमान, राष्ट्रियता र आत्मनिर्भरताका प्रतीक हुन्,” अध्यक्ष कार्की भन्छन्, “उहाँका विचार र कार्यले देश बनाउने आत्मविश्वास दिन्छ। त्यो आस्था सधैँ सम्झन ट्याटु खोपेको हुँ।”
भावी मेयर पदका बलिया दाबेदारका रूपमा उदाएका कार्की लालबन्दीमा पार्टीका निष्ठावान, कर्मठ र जनप्रिय नेताको रूपमा चिनिन्छन्। स्थानीय विकास, पारदर्शिता र पार्टी विस्तारमा सक्रिय उनले राष्ट्रिय राजनीतिमा ओली नेतृत्वको मजबुत शैली र राष्ट्रप्रेमबाट आफू गहिरोसँग प्रभावित भएको बताउँछन्।
उनको शरीरमा बनेको ओलीको ट्याटुले केवल शारीरिक चिन्ह होइन, विचारप्रतिको समर्पण बोकेको छ। कार्कीको यो कदमले पार्टीभित्र युवाहरुमा थप ऊर्जा र प्रेरणा दिएको स्थानीय नेताहरु बताउँछन्।
“राजनीति केवल पदको लागि होइन, विचारको लडाइँ हो भन्ने कुरा अध्यक्ष कार्कीले देखाउनुभएको छ,” एमालेका एक स्थानीय नेता भन्छन्।
राष्ट्रवादी सोच, अनुशासन र कार्यदक्षताको संगम मानिने उज्वल कार्की अब आगामी स्थानीय तह निर्वाचनमा एमालेबाट लालबन्दीको मेयर उम्मेदवार बन्ने चर्चा बढ्दो छ।





