प्रहरी उपरीक्षक मिलन केसीको झापामा उत्कृष्ट कार्यसम्पादन: तस्करी नियन्त्रणदेखि लागुऔषध विरुद्धको अभियानसम्म

राजकुमार ओली बिर्तामोड झापा

प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले झापा जिल्लामा आफ्नो कार्यकालमा उल्लेखनीय सफलता हासिल गरेका छन्।

तस्करी नियन्त्रण, फरार अभियुक्तहरूको पक्राउ, लागुऔषध विरुद्धको अभियान र शान्ति सुरक्षाको सुदृढीकरणमा उनले देखाएको नेतृत्व प्रशंसनीय छ।

तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता

एसपी केसीको नेतृत्वमा झापा प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ७० लाख ४६ हजार ४८८ रुपैयाँ बराबरको तस्करीका सामान बरामद गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.२० प्रतिशतले बढी हो। भारतसँग सीमा जोडिएका क्षेत्रहरूमा भन्सार चोरी र तस्करी नियन्त्रणमा उनले विशेष रणनीति अपनाएका छन् ।

फरार अभियुक्तहरूको पक्राउ

फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानमा पनि झापा प्रहरीले उल्लेखनीय प्रगति गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा ४२७ जना फरार प्रतिवादी पक्राउ परेका छन्, जसबाट १८४ वर्ष १ महिना १३ दिन कैद र ५ करोड ४ लाख ९८ हजार १४३ रुपैयाँ जरिवाना असुल गरिएको छ ।

लागुऔषध विरुद्धको अभियान

झापा जिल्लामा लागुऔषधको कारोबार नियन्त्रणमा पनि एसपी केसीको नेतृत्वमा उल्लेखनीय सफलता हासिल गरिएको छ। आर्थिक वर्ष २०८०/८१ मा २९७ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन्, जसमा ४६२ जना पक्राउ परेका छन्। यस अवधिमा २ किलो १७४ ग्राम १९५ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ ।

पुरस्कार र सम्मान

एसपी केसीको उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ। उनले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ मौजदा कानुनको अक्षरस पालना गरी अपराध अनुसन्धान एवम् नियन्त्रणको क्षेत्रमा विशेष योगदान पुर्‍याएको जनाउँदै प्रदेश प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले पुरस्कार प्रदान गरेका थिए ।

एसपी मिलन केसीको नेतृत्वमा झापा जिल्लामा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न र जनताको विश्वास जित्न उल्लेखनीय सफलता हासिल गरिएको छ। उनका यी प्रयासहरू आगामी दिनमा पनि प्रेरणादायी हुने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array