संघीय संसदकी पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेले संविधान कार्यान्वयन नभएसम्म जनताले खोजेको चीज पाउन नसकिने बताएकी छन् ।
सोमबार प्रेस चौतारी झापाले बिर्तामोड–७ स्थित सहिद नेत्र पार्कमा आयोजना गरेको २६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका लागि पत्रकारले सशक्त आवाज उठाउन आग्रह गरिन् ।
पूर्व कानून मन्त्री समेत रहेकी तुम्वाहाम्फेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पीडित पक्षको भावना सम्बोधन हुनेगरी तत्काल टुंगायाउनु पर्ने बताएकी छन् ।
‘सर्वोच्च अदालतको फैसला अनुरुप पीडितमैत्री विधेयक ल्याउँदा सरकारले सबैको समर्थन हुन्छ’,–तुम्बाहाम्फेले भनिन्–‘अन्तर्राष्ट्रियस्तरमै मानव अधिकारसँग जोडिएको विषय हो । बहुमतको नाममा मानव अधिकार हनन् गर्न हुँदैन ।’
संस्थापक पूर्व अध्यक्ष दाहाल सम्मानित
स्थापना दिवसको अवसरमा संस्थाका दोस्रो पूर्व अध्यक्ष तोयानाथ दाहाल उपेक्षितलाई सम्मान गरेको छ । दाहाल हाल कुवेतमा रहेकाले उनका आफन्त संस्थापक कोषाध्यक्ष रमेश गौतमलाई नगद २५ हजार सहित सम्मान गरिएको छ । संस्थाले विगत बर्षदेखि प्रेस चौतारीको पूर्व अध्यक्षलाई सम्मान गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व उपसभामुख तुम्बाहाम्फे, प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नेकपा एमाले केन्द्रीय सदस्य मेनुका काफ्ले, जिल्ला सचिव शिव ढुंगेल, नेपाल पत्रकार महासंघ कोशीका कोषाध्यक्ष विमल लामिछाने, महासंघ झापाका सचिव डिकेस लामा, नारी सञ्चार गृहकी अध्यक्ष एवम् प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न संघ–संगठन र सञ्चार माध्यामबाट करिव १६० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
९० जना पत्रकारको आँखा जाँच
सोही अवसरमा आयोजित आँखा जाँच शिविरमा ९० जना पत्रकारहरुले आँखा जाँच गराएका थिए । आँखा जाँच शिविरमा बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । त्यसको नेतृत्व अस्पतालका डाक्टर विनोद दाहालले गरेका थिए ।
पत्रकार तारामणि सापकोटाद्वारा लिखित आमसञ्चार तथा समावेशी पत्रकारिता पुस्तक कार्यक्रम स्थलमा विक्रीमा राखिएको थियो ।
प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष प्रदीप परियारले र सञ्चालन सहसचिव तिलक योञ्जनले गरेका थिए ।onlinekhaba





