बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले २८ औं स्थापना दिवसमा पूर्वअध्यक्षलाई अभिनन्दन र लेखनवृत्ति प्रदान गरेको छ ।
प्रेस चौतारी झापाका पूर्वअध्यक्ष गणेश पोखरेललाई स्थापना दिवसमा आयोजित कार्यक्रममा आज अभिनन्दन गरिएको हो । उनलाई नगद रु २५ हजार, सम्मानपत्रसहित अभिनन्दन गरिएको छ । झापा शाखाले एक कार्यकालमा एक जना पूर्वअध्यक्षलाई अभिनन्दन गर्दै आएको छ । पोखरेल झापाको तेस्रो अध्यक्ष हुन् ।
यस्तै, स्थापना दिवस एवम् वार्षिक साधारणसभामा संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति पुरस्कार पत्रकार सन्तोष शर्मालाई प्रदान गरिएको छ । चौतारी झापाले ६÷६ महिनामा लेखनवृत्ति प्रदान गर्दै आएको छ । आर्थिक विटमा पत्रकार शर्माले लेखेको समाचार छनौट भएपछि उनलाई नगद रु ५ हजारसहित लेखनवृत्ति प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले अभिनन्दन एवम् परस्कार प्रदान गरेका हुन् ।
२८ औं स्थापना दिवसमा झापा शाखाका अध्यक्ष प्रदीप परियारले एक वर्षमा गरेको कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् । अध्यक्ष परियारले पत्रकारिता तालिम, अन्तरसंवाद, अग्रजलाई सुनौं कार्यक्रम, सम्पादकसँग चौतारी, पत्रकारितामा एआईको प्रयोग लगायत दुई दर्जन कार्यक्रम सम्पन्न गरेको विवरण सार्वजनिक गरेका छन् ।
संगठनका कोषाध्यक्ष सरोज भट्टराईले आर्थिक प्रतिवेदन र उपचार कोषको संयोजक भीमा शिवाकोटीले कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि घिमिरे, अभिनन्दित पूर्वअध्यक्ष पोखरेल, प्रेस चौतारी केन्द्रीय सदस्य झापा इञ्चार्ज माधव विद्रोही, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेल, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, नारी सञ्चार गृह झापाको अध्यक्ष स्वस्तिका आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शाखाका सचिव युवराज आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिरा मैनाली र पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् प्रेस चौतारीका नेता सुब्रत न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।
………
देश बचाउन सत्य समाचार प्रवाह गर्नुहोस् ः निर्वमान सभामुख घिमिरे
संविधानको रक्षाका लागि जिम्मेवार भएर कलम चलाउनुहोस् ः निर्वमान सभामुख घिमिरे
बिर्तामोड । प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले गलत सूचनाले मुलुकलाई ध्वस्त बनाउने बताएका छन् ।
प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसमा झापा शाखाले आयोजना गरेको कार्यक्रमलाई आज सम्बोधन गर्दै घिमिरेले मुलुकलाई गलत सूचनाको शिकार बनाउनु नहुने बताए । पत्रकारले सहि सूचना दिएर मुलुकलाई ठिक बाटोमा अघि बढाउनुपर्ने घिमिरेको भनाई थियो । उनले गलत सूचनाले गलत बाटोमा लैजाने भन्दै देशलाई ठिक ट्रयाकमा ल्याउन प्रेस चौतारीमा आवद्ध पत्रकारलाई सत्य सूचना प्रवाहमा ध्यान दिन सूझाव दिए । प्रेस चौतारीले सहि सूचना प्रवाह गरेर गलत सूचनाहरुलाई प्रतिवाद गर्नुपर्ने दायित्व रहेको घिमिरेको भनाई छ ।
मुलुक बचाउनेहरुको पक्षमा कलम चलाउन सूझाव दिदैं प्रमुख अतिथि घिमिरेले आगामी निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको स्पष्ट बनाए । उनले देश अहिले असामान्य राजनीतिक परिस्थितिबाट गुज्रिरहेको टिप्पणी गरे ।
घिमिरेले गत भदौ २३ र २४ गते भएको राजनीतिक विध्वंशपछि यो निर्वाचन घोषणा गरिएको स्मरण गराउँदै वर्तमान सरकारलाई ‘असंवैधानिक’ को संज्ञा दिए ।
संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सञ्चारकर्मीहरूको भूमिका अहम् हुने चर्चा गर्दै पूर्वसभामुखसमेत रहेका घिमिरेले पत्रकारहरूलाई जिम्मेवार भएर कलम चलाउन आग्रह गरेका छन् ।
संविधान र व्यवस्थामाथि नै प्रहार भइरहेको अवस्थामा सत्य र तथ्यका आधारमा कलम चलाएर मुलुकलाई सही दिशा दिनु पत्रकारहरूको दायित्व भएको उनको तर्क थियो ।





