बिर्तामोडको शैक्षिक भ्रमणमा हिँडेको बसको ब्रेक फेल -घाइतेको चितवन मेडिकल कलेजमा उपचार हुँदै

बिर्तामोड। झापाको बिर्तामोड–२ स्थित निधि (निदी) माध्यमिक विद्यालयको होटल म्यानेजमेन्टतर्फ अध्ययनरत विद्यार्थी लिएर शैक्षिक भ्रमणमा गएको बस नवलपरासीमा दुर्घटनामा परेको छ। दुर्घटनामा परि ६ जना विद्यार्थी घाइते भएका छन्।
माघ २ गतेदेखि शैक्षिक भ्रमणमा निस्किएको को १ ग ९५४६ नम्बरको बस भ्रमण सकेर फर्कने क्रममा बुधबार दिउँसो करिब ३ बजे नवलपरासीको बुलिङटार गाउँपालिका–२, भेलौरीस्थित कालीगण्डकी करिडोरमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक विरेन्द्र गुरुङका अनुसार बसको ब्रेक फेल भई भित्तामा ठोक्किएर बीच सडकमा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा परि बिर्तामोड–८ का १८ वर्षीया उन्नती पाठक, १८ वर्षीय अनिल जैसवाल, १८ वर्षीय अंकित सिटौला, गगन मेचे, साङ्नुमा लिम्बू र पवित्रा गुरुङ घाइते भएका छन्। घाइतेमध्ये उन्नती पाठकको अवस्था मध्यम रहेको र अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते विद्यार्थीहरूको हाल चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। विद्यालय स्रोतका अनुसार होटल म्यानेजमेन्ट अध्ययनअन्तर्गत व्यवहारिक ज्ञान अभिवृद्धिका लागि विद्यार्थीहरूलाई शैक्षिक भ्रमणमा लगिएको थियो।
दुर्घटनापछि बिर्तामोडस्थित निधि माध्यमिक विद्यालय प्रशासनले घाइते विद्यार्थीहरूको उपचार र आवश्यक सहयोगका लागि पहल गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array