राजकुमार ओली। बिर्तामोड १९ भदौ
— झापाको बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा आयोजित सो कार्यक्रममा गुणस्तर, नापतौल तथा विभागले प्रदान गर्ने विभिन्न सेवाहरूका बारेमा जानकारी दिइएको थियो।
कार्यक्रममा विभागका निर्देशक पारसमणि यादवले नेपाल गुणस्तर चिह्न, अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आईएसओ) प्रमाणपत्रको महत्वबारे प्रकाश पार्दै भने, “उद्योगी तथा व्यापारीहरूले उत्पादनको गुणस्तर अभिवृद्धि गरी नेपाल गुणस्तर चिह्न र आईएसओ प्रमाणपत्र प्राप्त गर्न सकेमा त्यसले उपभोक्ताको विश्वास जित्न मात्र होइन, स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन समेत मद्दत पुग्छ।”
उनले थपे, “गुणस्तर र नापतौलको मापदण्डलाई स्थानीय तहसम्म पु-याउनु आजको आवश्यकता हो। यसका लागि स्थानीय सरकार, उद्योगी तथा उपभोक्ताबीच सहकार्य आवश्यक छ।”
कार्यक्रममा जिल्ला गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख रजनिस झाले कार्यालयमार्फत प्रदान गरिने सेवा, निरीक्षण प्रक्रिया तथा मापन उपकरणहरूको प्रमाणीकरणबारे जानकारी दिए।
उद्योगी, व्यापारी, उपभोक्ता तथा स्थानीय तहका प्रतिनिधिहरूले नेपाल गुणस्तर चिह्न र आईएसओ प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया, आवश्यक मापदण्ड तथा विभागको भूमिकाबारे विभिन्न जिज्ञासा राखेका थिए।
कार्यक्रममा नापतौल, ढकतराजु, उपभोक्ताको अधिकार तथा स्वदेशी उत्पादनको बजारीकरणजस्ता विषयमा समेत जानकारी दिइएको थियो।
उक्त कार्यक्रममा मेचीनगर नगरपालिकाका खाद्य प्रमुख दिपेन्द्र कार्की, मेची नगर उद्योग वाणिज्य संघकी उपाध्यक्ष निर्मला भण्डारी, दमक नगरपालिकाकी खाद्य अधिकृत दीक्षा अधिकारी लगायत बिर्तामोड, भद्रपुर, कन्काई, बुद्धशान्ति लगायतका स्थानीय तहका प्रतिनिधि तथा विषय विज्ञहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उनीहरूले नापतौल र गुणस्तरसम्बन्धी कामलाई स्थानीय तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।





