बिर्तामोड, २६ साउन (पूर्व खबर)
झापाको बिर्तामोड लागूऔषध कारोबारको उच्च जोखिम क्षेत्रका रूपमा देखिन थालेको छ।
पछिल्लो केही महिनादेखि लागूऔषध सेवन र बिक्री–वितरण सम्बन्धी घटनामा वृद्धि भएको प्रहरीको तथ्याङ्कले जनाउँछ।
यसै क्रममा, बिर्तामोड–३ स्थित मेची आँखा अस्पताल नजिकै रहेको मेचीवान होटलबाट लागूऔषधसहित पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ। आज दिउँसो ४:३० बजे होटलको दोस्रो तलाको कोठाभित्र लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक (असई) पदम विष्टको टोली खटिएर उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बिर्तामोड–८ का २४ वर्षीय पंकज मैनाली, बिर्तामोड ८ का ३३ वर्षीय सरोज पौडेल, भद्रपुर–१० का ४० वर्षीय शंकर चिमरिया, हल्दिवारी–४ का ३४ वर्षीय प्रदीप राई र हुम्ला नाम्खा गाउँपालिका–१ दिङ्गा बस्ने ३५ वर्षीय राजु लामा रहेको इलाका परिकारले अनरमणिका प्रमुख विजय श्रेष्ठले बताए ।
उनीहरूको साथबाट प्लास्टिकसहित १ ग्राम २७० मिलिग्राम ब्राउनसुगर, विभिन्न कम्पनीका मोबाइल फोन र नगद रकम बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार हाल बिर्तामोड क्षेत्रमा विशेष गरी होटल, गेष्ट हाउस र शहरी बस्तीमा लागूऔषध कारोबारको जोखिम उच्च बनेको छ। प्रहरीले यसअघि पनि लागूऔषधसँग संलग्न केही समूहलाई पक्राउ गरे पनि स्रोत–सञ्जाल जटिल र विस्तार भएको कारण नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको जनाएको छ।
प्रहरीले सामुदायिक प्रहरीको सतर्कता, विद्यालयस्तरमा सचेतना कार्यक्रम र व्यवसायिक क्षेत्रसँग सहकार्यलाई बलियो बनाएर मात्र बिर्तामोडलाई लागूऔषधमुक्त बनाउन सकिनेमा जोड दिएको छ।





