बिर्तामोड, कात्तिक २९ ।
इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको पुनर्निर्माण तथा सेवा प्रवाह सुदृढीकरणका लागि स्थानीय संस्था र व्यवसायीबाट उल्लेखनीय सहयोग थपिँदै गएको छ।
समुदाय–प्रहरी साझेदारीलाई बलियो बनाउन लक्षित गर्दै गरिएको सहयोग कार्यक्रमअन्तर्गत ट्राफिक र प्रहरी निकायलाई कम्प्युटर, इनभर्टर र ब्याट्री हस्तान्तरण गरिएको हो।
हिमालयन एभरेस्ट इन्सुरेन्स बिर्तामोड शाखाले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई प्रयोगमा आउने गरी ८० हजार रुपैयाँ बराबरको एक थान कम्प्युटर सेट प्रदान गरेको छ। प्रविधिमैत्री सेवाका लागि आवश्यक उपकरण उपलब्ध गराउन संस्थाले हातेमालो अघि बढाएको शाखा प्रमुख सुशिल थापाले बताए। उनका अनुसार संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत (CSR) का गतिविधि समुदायमै प्रत्यक्ष प्रभाव पार्ने क्षेत्रमा केन्द्रित गरिँदै आएको छ।
यसैबीच, बिर्तामोड–६ निवासी व्यवसायी तथा एनर्जी सोलुसनका प्रोप्राइटर भवानी शिवाकोटीले ट्राफिक व्यवस्थापन र कार्यालयको नियमित कार्य सहज बनाउन एक थान इनभर्टर र दुई थान ब्याट्री सहयोग गरेका छन्। उक्त सामग्रीको लागत करिब ८५ हजार रुपैयाँ बराबर रहेको जनाइएको छ। शिवाकोटीले समुदाय सुरक्षामा प्रहरीको निरन्तर भूमिका महत्वपूर्ण हुने भएकाले आवश्यक सहयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन्।
सहयोग प्राप्त दुवै कार्यालयलाई सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
सेवा केन्द्रका सचिव राजकुमार ओलीले सहयोगी हातहरूप्रति आभार व्यक्त गर्दै प्रहरी–समुदाय सम्बन्ध मजबुत बनाउन स्थानीय निकाय, व्यवसायी तथा सामाजिक संस्थाको निरन्तर सहभागिता जरुरी रहेको जानकारी दिएकाछन्।
“सुरक्षा सेवा प्रभावकारी बनाउन आवश्यक उपकरण जुटाउन समुदायबाट देखिएको समर्थन प्रेरणादायी छ। अझै पनि धेरै क्षेत्रमा सुधार र पूर्वाधार आवश्यक भएकाले यस्ता सहयोगले प्रहरीलाई गुणस्तरीय सेवा दिन हौसला मिल्छ,” अभियानकर्मी पदम श्रेष्ठले बताए।
इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय दुवैले प्राप्त सहयोगले कार्यालयको दैनन्दिन सेवा, अभिलेख व्यवस्थापन, र रिपोर्टिङ प्रणाली थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्।
समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रहरीको प्रयासमा सहयोग पुर्याउने हिमालयन एभरेस्ट इन्सुरेन्स, कम्पनीकी सीइओ अन्जु श्रेष्ठ, शाखा प्रमुख सुशिल थापा, तथा व्यवसायी भवानी शिवाकोटीलाई सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडले विशेष धन्यवाद व्यक्त गरेको छ।





