बैगुनधुरामा गिरिजा सामुदायिक भवन बन्दै, थापाले गरे शिलान्यास

राजकुमार ओली बिर्तामोड,झापा, ११ पुस (पूर्व खबर)
झापाको गौरादह नगरपालिका–९ स्थित बैगुनधुराको झमकचोकमा गिरिजाप्रसाद कोइराला सामुदायिक भवन निर्माण हुने निश्चित भएको छ ।

गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान बैगुनधुराले निर्माण गर्न लागेको उक्त भवनको नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले आज शिलान्यास गर्नुभयो ।
पुरानो तथा चर्चित बजार क्षेत्र बैगुनधुरामा निर्माण हुन लागेको सो सामुदायिक भवन स्थानीय सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा विकास गरिने बताइएको छ । जग्गादाता महेन्द्र चम्लागाईंले निःशुल्क उपलब्ध गराएको दुई कठ्ठा जग्गामा भवन निर्माण गर्न लागिएको हो ।
प्रतिष्ठानका अध्यक्ष उत्तमबहादुर चम्लागाईंका अनुसार ५० फिट लम्बाइ र ३० फिट चौडाइको एकतले भवन माघ महिनाको पहिलो साताबाट निर्माण सुरु गरिनेछ । भवनमा कार्यालय कक्ष, शौचालयलगायत आवश्यक पूर्वाधार रहनेछन् । भवन निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि प्रतिष्ठानले आजीवन सदस्यता शुल्क प्रतिव्यक्ति पाँच हजार रुपैयाँ निर्धारण गरेको छ । हालसम्म २० जनाभन्दा बढीले आजीवन सदस्यता लिइसकेको अध्यक्ष चम्लागाईंले बताउनुभयो । उहाँले सामुदायिक भवन निर्माणमा सबै क्षेत्रका नागरिक, संघसंस्था तथा दातृ निकायबाट सहयोगको अपील समेत गर्नुभयो । सो क्षेत्रमा सार्वजनिक कार्यक्रम सञ्चालन गर्दा देखिँदै आएको असहजता सामुदायिक भवन निर्माणपछि अन्त्य हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
किरण भट्टराईको अध्यक्षतामा  स्थापना भएको गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान बैगुनधुराले यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ । अघिल्लो महिना अध्यक्षमा चम्लागाईं निर्वाचित भएपछि सामुदायिक भवन निर्माणका लागि जग्गा व्यवस्थापन र शिलान्यासको प्रक्रिया अघि बढाइएको हो ।
शिलान्यास समारोहकै अवसरमा बैगुनधुराको डाँडागाउँस्थित भलभद्र आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयलाई घण्टी, विज्ञान सामग्री, नेपालको नक्सालगायत सामग्री उपलब्ध गराइएको अध्यक्ष चम्लागाईंले जानकारी दिनुभयो । सो विद्यालयमा लोपोन्मुख सन्थाल समुदायका विद्यार्थीको बाहुल्यता रहेको छ ।
त्यसैगरी नेपाली कांग्रेस कोशी प्रदेश श्रमिक तथा ट्रेड युनियन विभागले झापा क्षेत्र नं ४ अन्तर्गत २५ सामुदायिक विद्यालयमा सञ्चालन गरेको हिज्जे तथा निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता सफल बनाउन सहयोग गर्ने ३० जना शिक्षकलाई ‘सफलताको पाना’ मायाको चिनो प्रदान गरिएको छ ।
कार्यक्रममा जेहेन्दार विद्यार्थी प्रोत्साहन पुरस्कारअन्तर्गत लक्ष्मीनारायण माध्यमिक विद्यालयकी छात्रा प्रिया दर्नाललाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको छ । दर्नाल सो विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने छात्रा हुनुहुन्छ । साथै बैगुनधुरा कीर्तन मण्डलीलाई सहयोगस्वरूप डायरी हस्तान्तरण गरिएको सामुदायिक भवन निर्माण समितिका अध्यक्ष दिवसपति पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, महासमिति सदस्य सीताराम भट्टराई, प्रतिष्ठानका उपाध्यक्ष खेमप्रसाईं, सचिव कुवेरपति पोखरेललगायत वक्ताले गिरिजाप्रसाद कोइरालाको योगदानको स्मरणलाई चिरस्थायी बनाउन सामुदायिक भवन महत्वपूर्ण हुने बताउनुभयो । उहाँहरुले सामाजिक कार्यमा सबै पक्षको सहकार्य र सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array