भाटभटेनीमा थप ६ वटा लास भेटिए, पहिचानका लागि डीएनए परीक्षण गरिँदै

 

काठमाडौं, २९ भदौ,
जेन–जी आन्दोलनका क्रममा काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा भएको आगजनीपछि ६ वटा शव फेला परेका छन्। प्रहरीले जलेको अवस्थामा भेटिएका ती शवको पहिचान डीएनए परीक्षणपछि मात्र गर्न सकिने जनाएको छ।

काठमाडौं प्रहरी परिसरका अधिकारीका अनुसार शवहरू कंकाल अवस्थामा जलेका कारण तत्काल पहिचान गर्न कठिन भएको हो। ती मृतकहरू आन्दोलनकारी, कर्मचारी वा अन्य व्यक्ति हुन् भन्ने यकिन नभएको र डीएनए परीक्षणबाट मात्र सत्यतथ्य बाहिर आउने बताइएको छ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले घटनाप्रति दुःख प्रकट गर्दै यसले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नु परेको बताएका छन्। ‘‘भौतिक सम्पत्ति जल्नु एकातिर भयो, तर ज्यानको क्षति हुनु अझ ठूलो पीडा हो,’’ उनले भने, ‘‘व्यवसाय फेरि उठाउने साहस राखेका छौं, तर ज्यान गुमाउनु भनेको अपूरणीय नोक्सानी हो।’’

गुरुङले भाटभटेनीको संरचना पूर्णरूपमा ध्वस्त भए पनि फेरि व्यवसाय पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले घटनापछि बजार, आपूर्ति प्रणाली र कर्मचारीको भविष्यलाई सुरक्षित बनाउन पहल भइरहेको जानकारी दिए।

यसअघि जेन–जी आन्दोलनका क्रममा राजधानीसहित विभिन्न शहरमा आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए। भाटभटेनीमा भेटिएका शवहरू उक्त आन्दोलनकै क्रममा मारिएका हुनसक्ने अनुमान गरिएको छ। प्रहरीको विस्तृत अनुसन्धानपछि मात्र घटनाको सम्पूर्ण विवरण सार्वजनिक हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array