मन परेकी युवतीले अन्तै बिहे गरेपछि लागूऔषध मुद्दामा फसाउने षड्यन्त्र, चार जना पक्राउ

राजकुमार ओली,बिर्तामोड, १० पुष: (पूर्व खबर)
एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई अपराधसम्म धकेल्न सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । मन परेकी युवतीले अर्कैसँग विवाह गरेपछि उनका बुवा र श्रीमान्‌लाई लागूऔषध मुद्दामा फसाउने योजनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनपालथान गाउँपालिका–२ का २९ वर्षीय राजिव चौधरीको विवाह भएको १०–१२ दिन मात्र भएको थियो । मंसिर २७ गते कामका लागि कर्सिया बजार आएका चौधरीले सिटिजन बैंक अगाडि मोटरसाइकल पार्किङ गरेका थिए । सोही क्रममा प्रहरीले खानतलासी गर्दा मोटरसाइकलको इन्डिकेटरभित्र १३.३१० ग्राम ब्राउन सुगर फेला पारेपछि चौधरी र उनीसँगै रहेका एक व्यक्ति पक्राउ परेका थिए ।
तर प्रारम्भिक अनुसन्धानमै चौधरी लागूऔषध कारोबारमा संलग्न देखिएनन् । प्रहरी केरकारका क्रममा उनी तनावमा परेपछि अस्पताल भर्ना समेत गरिएका थिए । घटनाको गहिरो अनुसन्धान गर्दा यो सम्पूर्ण घटना नियोजित षड्यन्त्र भएको खुल्न आएको हो ।
प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार धनपालथान गाउँपालिका–७ का २७ वर्षीय विशालकुमार सिंह हुन् । सिंहले एक युवतीसँग विवाह गर्ने चाहना राख्दै उनको परिवारसँग प्रस्ताव राखेका थिए । तर परिवारले विवाह अस्वीकार गरेपछि प्रतिशोधको भावनाले युवतीका बुवालाई लागूऔषध मुद्दामा फसाउने प्रयास गरेका थिए । गत वैशाख २० गते युवतीका बुवा चन्द्रशेखर मण्डलको मोटरसाइकलमा २.९५० ग्राम ब्राउन सुगर राखेर प्रहरीलाई खबर गरिएको थियो । उक्त मुद्दामा मण्डल केही दिन हिरासतमा बसे पनि ल्याब रिपोर्ट नेगेटिभ आएपछि सफाइ पाएका थिए ।
पछि मंसिरमा युवतीको विवाह राजिव चौधरीसँग भएपछि सिंहले पुनः बदला लिँदै चौधरीलाई फसाउने योजना बनाएका थिए । यसका लागि उनले रोशन मण्डल, पारस मण्डल र राजा खान धोबीको सहयोग लिएका थिए । सिंहकै निर्देशनमा मोटरसाइकलमा ब्राउन सुगर राखी राजा धोबीलाई सुराकीका रूपमा प्रयोग गरी प्रहरीलाई खबर गरिएको खुलेको छ ।
घटनामा उस्तै प्रकृतिका दुई केस देखिएपछि प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । सुराकी बनेका राजा धोबी पक्राउ परेपछि षड्यन्त्रको पर्दाफास भएको हो । उनको बयानका आधारमा अन्य संलग्न व्यक्तिहरू पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार ब्राउन सुगर राखेबापत धोबीलाई १० हजार रुपैयाँ दिने आश्वासन दिइएको थियो ।
मोरङका प्रहरी उपरीक्षक कबित कटवालले सतही अनुसन्धान मात्र गरिएको भए निर्दोष व्यक्ति जेल जान सक्ने अवस्था रहेको बताउँदै गहिरो अनुसन्धानकै कारण ‘फेक केस’ पत्ता लागेको बताए ।
“गहिराइमा पुगेर अनुसन्धान गर्दा निर्दोष जोगिए र षड्यन्त्रकारी पक्राउ परे,” उनले भने ।
प्रहरीले निर्दोष ठहरिएका राजिव चौधरी र उनका साथीलाई रिहा गरेको छ भने मुख्य योजनाकार सिंहसहित चारै जनालाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array