महँगो अस्पतालमा बिरामी लगिए एम्बुलेन्स चालकलाई स्पटमै कारबाही गर्ने तयारी

Look
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा परी एम्बुलेन्स चालकहरूले बिरामीलाई अनावश्यक रूपमा महँगा निजी अस्पतालमा लैजाने कार्य तत्काल रोक्न कडा चेतावनी दिएको छ । मन्त्रालयले यस्तो कार्यलाई गम्भीर लापरवाही र अमानवीय व्यवहारको संज्ञा दिँदै दोषी देखिए स्पटमै कारबाही गर्ने तयारी गरेको जनाएको छ ।
बुधबार जारी विज्ञप्तिमा मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ विपरीत गरिएका गतिविधिबाट सेवाग्राही ठगिनुका साथै आपतकालीन स्वास्थ्य सेवामाथि नै प्रश्न उठिरहेको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार अप्ठ्यारो अवस्थामा रहेका बिरामी वा घाइतेलाई सहयोग गर्नुको साटो आर्थिक लाभका लागि उनीहरूलाई जबर्जस्ती निजी तथा महँगा अस्पतालमा लैजानु अत्यन्तै दुःखद र निन्दनीय कार्य हो ।
विज्ञप्तिमा भनिएको छ, “आकस्मिक स्वास्थ्य सेवाका लागि परिचालन हुने एम्बुलेन्स सेवाको सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन एम्बुलेन्स सेवा निर्देशिका, २०८२ जारी गरिएको छ । निर्देशिकाअनुसार सबै एम्बुलेन्स सेवा प्रेषण केन्द्रमा आवद्ध भई सञ्चालन हुनुपर्ने व्यवस्था गरिएको छ ।”
तर हाल निर्देशिकाविपरीत केही एम्बुलेन्स चालकहरूले बिरामी वा घाइतेलाई एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा लैजाँदा बिरामीको इच्छा, अस्पतालको प्रेषण वा प्रेषण केन्द्रको निर्देशन बेवास्ता गरी आर्थिक प्रलोभनमा निजी अस्पताल पुर्‍याउने गरेको गुनासो मन्त्रालयमा पुगेको जनाइएको छ ।
मन्त्रालयले यस्ता गतिविधिले सेवाग्राहीलाई आर्थिक भार थप्ने, उपचारमा ढिलाइ गराउने तथा स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास कमजोर बनाउने खतरा रहेको उल्लेख गरेको छ । त्यसैले एम्बुलेन्स सेवा निर्देशिका पूर्ण रूपमा कार्यान्वयन गर्न अनुगमन कडा बनाइने र उल्लङ्घन गर्ने चालक तथा सेवा प्रदायकलाई कानुनबमोजिम कारबाही गरिने स्पष्ट गरिएको छ ।
मन्त्रालयका अनुसार अबदेखि कुनै पनि एम्बुलेन्सले आर्थिक लाभ, कमिसन वा अन्य प्रलोभनका आधारमा बिरामी बोक्दै हिँडेको पाइएमा तत्काल कारबाही प्रक्रिया अघि बढाइनेछ । आवश्यक परे एम्बुलेन्सको अनुमतिपत्र निलम्बनदेखि सेवा बन्दसम्मको कारबाही गरिने चेतावनी दिइएको छ ।
स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवाप्रति नागरिकलाई पनि सचेत रहन आग्रह गर्दै कुनै अनियमितता देखिए सम्बन्धित निकायमा उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयले आपतकालीन स्वास्थ्य सेवामा कुनै पनि प्रकारको व्यापारिक चलखेल सह्य नहुने स्पष्ट सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array