महिलालाई आत्मनिर्भर बनाउँदै बिर्तामोडको आत्मनिर्भर सहकारी

राजकुमार ओली।,बिर्तामोड, २३ कार्तिक, (पूर्व खबर)

आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले आर्थिक सशक्तीकरणमार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउन प्रभावकारी काम गर्दै आएको छ।

महिलाहरूको नेतृत्वमा सञ्चालन हुँदै आएको सहकारीले वित्तीय पहुँच विस्तार, उद्यमशीलता प्रवर्द्धन र पारिवारिक आय वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको संस्थाका पदाधिकारीहरूले बताएका छन्।

संस्थाको १४औं वार्षिक साधारण सभाको अवसरमा अध्यक्ष पवित्रा महतारा प्रसाईंले सुरुवातदेखि नै सहकारीले महिलालाई वित्तीय कारोबारमा सहभागी गराउँदै आर्थिक आत्मनिर्भरता तर्फ उन्मुख गराएको बताउनुभयो। उहाँका अनुसार संस्थाले सदस्य महिलाहरूलाई ऋण, बचत, सीप विकास र उद्यम प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आत्मविश्वासी र सक्षम बनाएको छ।

अध्यक्ष प्रसाईंले भन्नुभयो, “हामीले सदस्य महिलाहरूलाई घरधन्दा र साना व्यवसायसँग जोड्दै वित्तीय व्यवस्थापनको ज्ञान दिएका छौं। जसका कारण धेरै महिलाहरू अहिले आफ्नै व्यवसाय सञ्चालन गर्न सक्षम भएका छन्।” उहाँका अनुसार संस्था स्थापना भएको १४ वर्षयता महिलाहरूले ऋण सुविधा लिएर पशुपालन, साना उद्योग, खुद्रा पसल र कृषिमा लगानी गरेका छन्।

संस्थाको हाल १ हजार ८५० जना शेयर सदस्यमध्ये अधिकांश महिला छन्। ती सदस्यहरूमार्फत १ करोड ४८ लाख १६ हजार ८०० रुपैयाँ शेयर पूँजी र ४ करोड ४२ लाख ६६ हजार ९१५ रुपैयाँ निक्षेप संकलन भएको कार्यकारी प्रमुख पुष्पा दाहालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ। सहकारीको साधारण जगेडा कोषमा १ करोड २० लाख ८५ हजार ९११, नियमनकारी कोषमा ४९ लाख ७२ हजार ५१ र अन्य कोषमा २० लाख ५५ हजार १३४ रुपैयाँ रहेको छ।

आर्थिक वर्ष २०८१/८२ मा संस्थाले ६ करोड ५ लाख १० हजार ५३१ रुपैयाँ ऋण प्रवाह गरी १ करोड १४ लाख ६६ हजार ४७३ रुपैयाँ नाफा आर्जन गरेको छ। संस्थाको मौज्दात रकम २ करोड ९ लाख ७० हजार ३१६ रुपैयाँ रहेको र पल्स मापदण्डअनुसार तरलता पर्याप्त रहेको कार्यकारी प्रमुख दाहालले बताउनुभयो।

समीक्षा वर्षमा संस्थाले १४ लाख ६५ हजार ५८१ रुपैयाँ शेयर लाभांश र ८ लाख १९ हजार ६७६ रुपैयाँ संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरूलाई वितरण गर्ने भएको छ।

साधारण सभामा बोल्दै अध्यक्ष प्रसाईंले आत्मनिर्भर साकोस महिलाहरूको साझा आर्थिक घर बनेको बताउँदै भन्नुभयो, “हामीले महिलालाई बचत गर्न, ऋण लिन र लगानी गर्न सिकाएका छौं। अहिले हाम्रो संस्था महिला उद्यमीहरूको आत्मविश्वास र सफलता देखिने केन्द्र बनेको छ।” उहाँले पारदर्शिता, सहकार्य र सहकारी ऐनको पालना नै संस्थाको बलियो पक्ष भएको उल्लेख गर्नुभयो।

वार्षिक साधारण सभामा सचिव यशोदा प्रसाईंले सञ्चालन, कोषाध्यक्ष चन्द्रादेवी सेढाईंले स्वागत मन्तव्य र लेखा समितिकी संयोजक शर्मिला खतिवडा अधिकारीले लेखा प्रतिवेदन वाचन गर्नुभएको थियो। कार्यक्रममा असल बचतकर्ता रुपा चौधरी, असल ऋणि संगीता बुढाथोकी, उद्यमी महिला पवित्रा क्षेत्री, एकल महिला सदस्य अनिता राजवंशी, इमानदार ऋणि सितामाया राई, उत्कृष्ट बाल बचतकर्ता सुरक्षा अधिकारी र अभिभावक शिव वाग्लेलाई सम्मान गरिएको थियो।

कार्यक्रममा नयाँ उज्यालो सहकारी संस्थाकी अध्यक्ष सुष्मा पौडेल र पत्रकार गोपाल काफ्लेले शुभकामना मन्तव्य दिनुहुँदै आत्मनिर्भर साकोसले महिला सशक्तीकरणको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। जीवन विज्ञान योग समूहले योग प्रशिक्षण र सदस्यहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array