राजकुमार ओली, बिर्तामोड ३१ साउन पूर्वखबर नेपाल उद्यमशील महिला संघ झापाले आफ्नो आठौं वार्षिक साधारण सभा बिर्तामोडमा सम्पन्न गरेको छ।
संघको कार्यालयमा आयोजित साधारणसभाको अध्यक्षता संघकी अध्यक्ष पार्वता खरेल बिमलीले गर्नुभएको थियो भने बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र कार्यक्रमका प्रमुख अतिथि रहनुभएको थियो।
साधारणसभामा झापाका विभिन्न संघसंस्था, व्यवसायी, महिला उद्यमी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता थियो।
युवा व्यवसायी बिमली सम्मानित
कार्यक्रमका प्रमुख आकर्षणमध्ये चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ झापाका अध्यक्ष ओमकृष्ण बिमलीलाई “उत्कृष्ट तथा सफल व्यवसायी”को रूपमा सम्मान गरिएको थियो। प्रमुख अतिथि मिश्रले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै बिमलीलाई सम्मानित गर्नुभएको हो।
संघले समाजमा आदर्श प्रस्तुत गर्दै युवा पुस्तालाई व्यवसायमा आकर्षित गर्न बिमलीजस्तो उद्यमीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेको थियो।
साधारणसभामा अध्यक्ष पार्वता खरेल बिमलीले गत आर्थिक वर्षमा संघले सम्पन्न गरेका गतिविधिहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले महिला उद्यमशीलतालाई सबल बनाउन संघले तालिम, व्यवसायिक सीप अभिवृद्धि, नेटवर्किङ र सहकार्यका थुप्रै कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो।
त्यस्तै, संघकी कोषाध्यक्ष उमा प्रसाईंले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आवधिक रूपमा राजस्व र सदस्यतामूलक शुल्क संकलनमार्फत कोषलाई सबल बनाउँदै आएको बताउनुभयो।
१० सदस्यबाट सुरु, अहिले ८० भन्दा बढी
सन् २०७४ सालमा जम्मा १० जना महिला उद्यमीहरूलाई सदस्य बनाएर सुरु गरिएको संघमा अहिले ८० भन्दा बढी सदस्य आवद्ध भएको तथ्यांक सार्वजनिक गरिएको छ।
संघले बिर्तामोड क्षेत्रमा मात्र नभई आसपासका महिला उद्यमीलाई समेत व्यवसायमा सक्रिय बनाउन तालिम, गोष्ठी, प्राविधिक सहयोग र प्रोत्साहन उपलब्ध गराउँदै आएको छ।
कार्यक्रममा प्रमुख अतिथि सागर मिश्रले महिला उद्यमशीलतालाई नगरपालिका स्तरमै प्रोत्साहन गरिने बताउनुभयो। “युवा महिला उद्यमीलाई उत्कृष्ट स्थान दिएर व्यवसायमा जोड्नु नगरपालिकाको प्राथमिकता हो,” उहाँले भन्नुभयो, “समृद्ध नगर निर्माण महिला स्वावलम्बनबिना सम्भव छैन।”
त्यस्तै, विशेष अतिथि अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपाने, बिर्तामोड साना शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, समाजसेवी लीला अनमोल, व्यवसायी निर्मला भण्डारी चौहानलगायतले महिला उद्यमीहरूले गरेको योगदानलाई प्रशंसा गर्दै उद्यमशीलतालाई अझै सबल बनाउन सहकार्य गर्नुपर्नेमा जोड दिए।
सम्मानित व्यक्तित्व ओमकृष्ण बिमलीले व्यवसायिक जगतमा महिलाको सहभागिता बढ्नु समाजकै समृद्धिका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै संघलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
सांस्कृतिक प्रस्तुति र स्वागत
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ऐश्वर्या पाण्डे र सदस्य निर्मला खरेल ओडारीले प्रस्तुत गरेको स्वागत गीतले सभाको वातावरणलाई झन् आकर्षक बनाएको थियो। उपाध्यक्ष यशोदा प्रसाईंले सम्मानित व्यक्तिको सम्मानपत्र वाचन गर्नुभएको थियो भने महासचिव बिना थापाले सम्पूर्ण कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
सो अवसरमा संघमा नयाँ सदस्य बनेकाहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो। नयाँ सदस्यको सहभागिता संस्थाको दायरा विस्तार र महिला उद्यमशीलतालाई थप सबल बनाउने आधार बन्ने विश्वास व्यक्त गरिएको थियो ,.
संघले विगतका वर्षहरूमा महिला उद्यमीलाई व्यवसायीक सीप विकास गर्ने विभिन्न तालिम सञ्चालन गरेको, व्यवसाय प्रवर्द्धनका लागि प्रर्दशनी तथा मेला आयोजना गरेको, बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी महिला व्यवसायीलाई ऋण प्रवाह सहज बनाउन पहल गरेको, साथै जिल्लाका महिला व्यवसायीलाई नेटवर्किङमार्फत एक आपसमा अनुभव आदानप्रदान गर्ने अवसर सिर्जना गरेको अध्यक्ष खरेलले जानकारी दिनुभयो।
विशेषगरी बिर्तामोडमा महिलाले सञ्चालन गरेका बुटिक, सिलाई–कटाई, क्याटरिङ, खाद्य उत्पादन, सौन्दर्य व्यवसायलगायतका साना तथा मझौला उद्यमलाई संघले प्राविधिक सहयोग गर्दै आएको छ। महिला उद्यमीलाई वैधानिक रूपमा व्यवसाय दर्ता गर्न प्रोत्साहित गर्नु संघको अर्को प्रमुख उपलब्धि भएको सभामा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ।
भावी योजना
संघले आगामी दिनमा महिला व्यवसायीलाई डिजिटल मार्केटिङ तालिम, उद्योग दर्ता तथा कर प्रणाली सम्बन्धी सचेतना, र उद्यम विस्तारका लागि लगानीकर्ता खोजी जस्ता कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। अध्यक्ष खरेलले “महिलालाई आत्मनिर्भर र स्वावलम्बी बनाउन संघले अहोरात्र खटिनेछ” भन्दै सबै सरोकारवालासँग सहकार्यको अपिल गर्नुभयो।
नेपाल उद्यमशील महिला संघ झापाको आठौं साधारण सभा केवल औपचारिक कार्यक्रम मात्र नभई महिला उद्यमशीलतालाई बलियो बनाउन साझा संकल्पको रूपमा परिणत भएको सहभागीहरूले बताएका छन्।
युवा व्यवसायी ओमकृष्ण बिमलीको सम्मान, प्रमुख प्रशासकीय अधिकृत मिश्रको प्रतिवद्धता र सरोकारवालाको सहकार्यको सन्देशले संघको आगामी यात्रा अझ सबल र प्रभावकारी हुने विश्वास दिलाएको छ।





