मेचीनगरमा गाई–भैसीलाई खोरेत रोगविरुद्ध खोप अभियान सुरु

 

मेचीनगर, कात्तिक २३(पूर्व खबर)

मेचीनगर नगरपालिकामा आजदेखि गाई–भैसीलाई खोरेत रोगविरुद्धको खोप अभियान सुरु गरिएको छ।

राष्ट्रिय पशुपंक्षी खोप कार्यक्रमअन्तर्गत कोशी प्रदेशमा पहिलो चरणको खोरेत रोगविरुद्धको यो खोप अभियान मेचीनगरबाट प्रारम्भ गरिएको हो।

नगरपालिकाको पशु सेवा शाखामा आयोजित कार्यक्रममा कोशी प्रदेश पशुपंक्षी तथा माछा विकास निर्देशनालयकी पशु चिकित्सक अधिकृत पवित्रा दाहालले नगरका १५ वटै वडामा खटिएका भ्याक्सिनेटरहरूलाई प्रभावकारी ढंगले काम गर्न आग्रह गर्नुभयो।

नगरपालिकाको पशु सेवा शाखाको सिफारिसमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाबाट खटिएका भ्याक्सिनेटरहरूलाई सहयोग, सहजीकरण, अनुगमन र व्यवस्थापनका लागि प्रत्येक वडामा टोल, समूह र फोकल पर्सन तोकिएको पशु प्राविधिक विक्रम गुरुङले जानकारी दिनुभयो।

गुरुङका अनुसार वडा नम्बर १ देखि ४ मा वडा प्राविधिक मदनकुमार भण्डारी, वडा नम्बर ५ देखि ७ मा रञ्जु खड्का, वडा नम्बर ९ देखि ११ मा कञ्चन दाहाल र वडा नम्बर १२ देखि १५ सम्मका लागि रेशबहादुर तामाङलाई जिम्मेवारी तोकिएको छ। सम्पूर्ण वडाको खोप व्यवस्थापन र फोकल पर्सनको रूपमा पशु प्राविधिक छत्रबहादुर राई तोकिएको पनि उहाँले बताउनुभयो।

आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीका अनुसार इलाम जिल्लालाई खोरेतमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यअनुरूप बफर जोनका रूपमा झापामा यो अभियान सुरु गरिएको हो। “कोशी सरकारले इलामलाई खोरेतमुक्त घोषणा गरी त्यहाँका पशुपालन उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच दिलाउने उद्देश्य राखेको छ,” उहाँले भन्नुभयो।

खोप अभियानअन्तर्गत गाई–भैसीलाई हरेक ६ महिनामा नियमित खोप लगाइने र अर्को चरणमा बुस्टर खोप पनि दिने तयारी भएको पशु प्राविधिक गुरुङले बताउनुभयो। उहाँका अनुसार यसपछि बाख्रा, बंगुर र कुखुराजस्ता अन्य पशुपंक्षीलाई पनि क्रमशः खोप लगाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array