राजकुमार ओली,१४ मंसिर:मेचीनगर, झापा,
लैङ्गिक हिंसा न्यूनीकरणका उद्देश्यसहित मेचीनगरमा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले बालबालिका, किशोरी तथा महिलामाथि पर्ने जोखिम उच्च भएकाले विद्यालय, परिवार, समुदाय र स्थानीय तह सबैले समान जिम्मेवारीसाथ लैङ्गिक हिंसाविरुद्ध काम गर्नुपर्ने सुझाव दिएका छन्।
१६ दिने लैङ्गिक हिंसा विरोधी अभियानअन्तर्गत आयोजित कार्यक्रममा सहभागीहरूले लैङ्गिक हिंसाका प्रभाव पहिचान, रोकथाम र जिम्मेवारी साझेदारीबारे विस्तृत रुपमा छलफल गरेका थिए। उनीहरूले घरेलु हिंसा, सामाजिक विभेद, कार्यस्थलमा हुने दुव्र्यवहारदेखि सार्वजनिक स्थानमा हुने दुव्र्यवहारसम्मका घटना रोक्न सशक्त पर्वेक्षण र सामूहिक प्रतिक्रिया आवश्यक रहेको धारणा राखे।
कार्यक्रमले सहभागीहरूलाई व्यवहारिक जानकारीसहित विद्यमान कानूनी संरचनाको आधारभूत समझ प्रदान गरेको बताइएको छ। अपराध दर्ता प्रक्रिया, पीडित संरक्षणसम्बन्धी कानुनी व्यवस्था, स्थानीय तहमार्फत उपलब्ध सहायता, र समुदायस्तरमा देखिन सक्ने जोखिमहरूको पहिचानजस्ता विषयमा सहभागीहरूलाई जानकारी दिन आयोजकले विस्तृत प्रस्तुतीकरण गरेका थिए। सहभागीहरूले यस्ता कार्यक्रमले व्यवहारमै परिवर्तन ल्याउन योगदान पुर्याउने भएकाले निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए।
मेचीनगर नगरपालिका पूर्वाधार शाखा प्रमुख जीवन भट्टराईले समाज संवेदनशील बन्दै गएको अवस्थामा निर्माण आयोजनासँग सम्बन्धित क्षेत्रमै पनि सामाजिक उत्तरदायित्वको आवश्यकता बढ्दै गएको बताए। निर्माण स्थल वरपरका समुदायमा देखिन सक्ने विभिन्न प्रकारका प्रभावबारे जानकारी दिन, छलफल गर्ने र पारदर्शिता कायम गर्न अभिमुखीकरण कार्यक्रम महत्त्वपूर्ण हुने भट्टराईले बताए। उनका अनुसार निर्माण क्षेत्रसँग जोडिएका श्रमिकको अवस्था, समुदायसँगको समन्वय, बालश्रम तथा लैङ्गिक दुव्र्यवहारजस्ता संवेदनशील विषयलाई सम्बोधन गर्न स्थानीय तहले ध्यान दिनुपर्ने आवश्यकता बढिरहेको छ।
समुदायमा सकारात्मक प्रभाव पार्ने सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रममार्फत निर्माण कम्पनीहरूले यसअघि पनि शिक्षा, स्वास्थ्य र स्थानीय पूर्वाधार सुधारमा सहयोग गर्दै आएका छन्। अभिमुखीकरणले कम्पनीहरूलाई कानुनी दायित्व मात्र होइन, समुदायसँगको सम्बन्ध मजबुत बनाउन पनि सहयोग गर्ने सहभागीहरूको भनाइ छ। उनीहरूले १६ दिने अभियानको सार्थकता यस्ता व्यवहारिक कार्यक्रमले अझै बढाएको उल्लेख गरे।
अभिमुखीकरणको समापन कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक तथा सहजीकरणकर्ताले लैङ्गिक हिंसामुक्त समाज निर्माणका लागि निरन्तर सहकार्य र संवेदनशीलताका साथ काम गरिने प्रतिवद्धता व्यक्त गरे। उनीहरूले स्थानीय तह, निकाय, सुरक्षा निकाय, विद्यालय तथा समुदायबीच प्रभावकारी समन्वय हुँदा मात्रै हिंसा न्यूनीकरणको लक्ष्य हासिल गर्न सकिने बताए।
कार्यक्रम कम्पनीको तर्फबाट इन्जिनियर बिदुर मैनालीको सञ्चालनमा सम्पन्न भएको थियो।
उनीका अनुसार निर्माण क्षेत्रमा कार्यरत श्रमिक तथा स्थानीय समुदायबीच देखिन सक्ने गलतफहमी, विवाद वा दुव्र्यवहारका घटनालाई रोक्न जागरणमूलक कार्यक्रम अनिवार्य बन्दै गएको छ। मैनालीले आगामी दिनमा पनि समुदाय–केन्द्रित सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई क्रमबद्ध रूपमा अघि बढाइने जानकारी दिए।
झापा जिल्लाका अन्य स्थानीय तहहरूले समेत लैङ्गिक हिंसा न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम, सुरक्षित वातावरण निर्माण, विद्यालय–स्तरमा सचेतना, महिला तथा किशोरीका लागि आत्मरक्षा प्रशिक्षण, र पीडित सहायता डेस्क सञ्चालनलगायतका गतिविधि अगाडि बढाउँदै आएका छन्। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले समेत १६ दिने अभियान अवधिभर सक्रिय अनुगमन, उजुरी दर्ता सहजता र समुदायमा आधारित सचेतनामूलक अभियान सञ्चालन गरिरहेका छन्।
सहभागीहरूका अनुसार लैङ्गिक हिंसा प्रथमतः घर, विद्यालय र समुदायमै देखापर्ने भएकाले रोकथाममा सबै तहको समान पहल आवश्यक छ। पीडितमैत्री सेवा, गोपनीयता, कानूनी सहयोग र मनोसामाजिक परामर्शलाई संयोजन गरी हिंसाबाट मुक्त समाज निर्माण गर्न सकिने उनीहरूको मत छ।





