मेची भन्सार कार्यालयमा ३ महिनामा पौने ४ अर्ब राजस्व जम्मा

राजकुमार ओली बिर्तामोड, १५पुष:(पूर्व खबर)

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । भन्सार कार्यालयका अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट मात्रै तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आवको पहिलो पाँच महिनामा पेट्रोल, डिजेल, मट्टितेल, एलपी ग्यास र एभिएसन फ्युल गरी पाँच किसिमका पेट्रोलियम पदार्थ आयात भएका छन् । ती पेट्रोलियम पदार्थको कुल आयात परिमाण ११ हजार २८ किलो लिटर रहेको छ भने यसको कुल आयात मूल्य सात अर्ब ८४ करोड ४० लाख रुपैयाँ पुगेको छ । पेट्रोलियम पदार्थबाट सङ्कलित राजस्वले मेची भन्सार कार्यालयको कुल राजस्व सङ्कलनको ५५ दशमलव ८० प्रतिशत हिस्सा ओगटेको उनले जानकारी दिए ।
सूचना अधिकारी हुमागाईँका अनुसार देशको दैनिक जीवन, उद्योग–व्यवसाय, यातायात तथा निर्माण क्षेत्र पेट्रोलियम पदार्थमा अत्यधिक निर्भर रहेकाले यसको आयात निरन्तर उच्च रहँदै आएको छ । त्यसैको प्रत्यक्ष प्रभाव राजस्व सङ्कलनमा देखिएको उनले बताए । “सीमावर्ती नाका भएर ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात हुने भएकाले मेची भन्सार कार्यालयको प्रमुख राजस्व स्रोतकै रूपमा यो स्थापित भएको छ,” उनले भने ।
पेट्रोलियम पदार्थपछि तयारी कपडाबाट उल्लेख्य राजस्व सङ्कलन भएको छ । कार्यालयको तथ्याङ्कअनुसार तयारी कपडाबाट कुल राजस्वको ४ दशमलव १४ प्रतिशत हिस्सा सङ्कलन भएको छ । सीमावर्ती भारतीय बजारसँगको सहज पहुँच र उपभोक्ताको मागका कारण तयारी कपडाको आयात उल्लेख्य रहेको भन्सार कार्यालयले जनाएको छ ।
त्यसैगरी, यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट ३ दशमलव ६८ प्रतिशत राजस्व सङ्कलन भएको छ । साना तथा ठूला सवारीसाधन, मोटरसाइकल, ट्र्याक्टर, अटो रिक्सा तथा तिनका स्पेयर पार्ट्स आयातका कारण यस शीर्षकबाट राम्रो राजस्व उठेको कार्यालयको भनाइ छ । पछिल्लो समय सवारीसाधनको प्रयोग बढ्दै जानु र पुराना साधनको मर्मतका लागि पार्टपुर्जाको माग बढ्नुले यस क्षेत्रको आयातलाई प्रोत्साहन गरेको देखिन्छ ।
त्यसैगरी तरकारी आयातबाट ३ दशमलव ४० प्रतिशत राजस्व सङ्कलन भएको छ । स्वदेशी उत्पादनले बजारको माग पूरा गर्न नसक्दा भारतबाट तरकारी आयात हुने क्रम जारी रहेको छ । विशेषगरी चाडपर्व तथा अफ–सिजनमा तरकारी आयात बढ्ने गरेको भन्सार कार्यालयले जनाएको छ ।
सिमेन्ट क्लिङ्करबाट ३ दशमलव ३० प्रतिशत राजस्व सङ्कलन भएको छ । पूर्वाधार विकास, घर निर्माण तथा ठूला निर्माण आयोजनाका कारण सिमेन्ट उद्योगलाई आवश्यक पर्ने क्लिङ्करको आयात बढेको कार्यालयले जनाएको छ । यसले निर्माण क्षेत्रको गतिविधि सक्रिय रहेको संकेतसमेत गरेको भन्सार अधिकारीहरू बताउँछन् ।
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्य हासिल गर्न नियमित अनुगमन, चोरी पैठारी नियन्त्रण तथा भन्सार प्रक्रिया सरलीकरणलाई प्राथमिकता दिएको जनाएको छ । सूचना अधिकारी हुमागाईँले राजस्व चुहावट नियन्त्रण, प्रविधिको प्रयोग र कर्मचारीको सक्रियताका कारण राजस्व सङ्कलन सन्तोषजनक रहेको बताए ।
उनका अनुसार आगामी महिनाहरूमा आयात–निर्यातको अवस्था, बजार माग तथा आर्थिक गतिविधिका आधारमा राजस्व सङ्कलन अझै बढ्ने अपेक्षा गरिएको छ । भन्सार कार्यालयले पारदर्शी र प्रभावकारी सेवा प्रवाहमार्फत सरकारको राजस्व लक्ष्य पूरा गर्न प्रतिबद्ध रहेकोसमेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array