युनि एशिया प्यासिफिक सम्मेलनको एसिया सदस्यमा नेपालका गजेन्द्र पौडेल

राजकुमार ओली,बिर्तामोड, कात्तिक ८(पूर्व खबर)

मलेसियामा सम्पन्न युनि एसिया प्यासिफिक सम्मेलन (UNI Asia Pacific Conference) सम्पन्न भई दक्षिण एसियाली कार्य समिति गठन भएको छ ।

उक्त समितिमा नेपाल युनिकोमका अध्यक्ष गजेन्द्र पौडेल सदस्यका रूपमा चयन भएका छन् । पौडेलको चयनले नेपालका श्रम–व्यवसाय क्षेत्र र अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनमा नेपालको उपस्थितिलाई थप सुदृढ बनाएको छ ।

सम्मेलनमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिहरूले पौडेलको योगदान, अनुभव र श्रमिक अधिकारमा देखाएको प्रतिबद्धतालाई उच्च मूल्यांकन गर्दै उनलाई कार्य समितिमा चयन गरेका हुन् । यस अवसरमा पौडेलले सबै सदस्य देशका प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्दै भने, “नेपाल युनिकोम र मेरो योगदान ट्रेड (व्यापार) क्षेत्रमा निरन्तर रहनेछ । नेपालमा देखिएको पुस्तागत संरक्षणवादबाट हामीले सिक्नुपर्छ, किनभने नयाँ पुस्ताको भावना बुझ्न सकेनौं भने परिवर्तन सम्भव हुँदैन ।”

उनले एसिया प्यासिफिक क्षेत्र श्रमिक अधिकार र सहकार्यका दृष्टिले सबल रहेको बताउँदै अझ प्रभावकारी रुपमा काम गर्ने प्रतिबद्धता जनाए । साथै उनले पुनः निर्वाचित भएका एसडीए अस्ट्रेलियाका अध्यक्ष जेरार्ड ड्वायरलाई बधाई दिँदै सम्पूर्ण समर्थकहरू प्रति आभार प्रकट गरे ।

यही अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु घिमिरेले पौडेलको चयन नेपालको श्रम–व्यापार क्षेत्रका लागि गौरवको विषय भएको बताए । उनले भने, “गजेन्द्र पौडेलजस्ता सक्षम र अन्तर्राष्ट्रिय सञ्जालमा सक्रिय व्यक्तित्वले नेपालका श्रमिक र व्यवसायिक प्रतिनिधित्वलाई नयाँ उचाइमा पुर्‍याएका छन् । अब नेपालले एसिया प्यासिफिक क्षेत्रमा अझ बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।”

घिमिरेका अनुसार, पौडेलको अन्तर्राष्ट्रिय भूमिकाले नेपाली उद्योग, श्रमिक र रोजगारका सवालमा नयाँ दृष्टिकोण ल्याउनेछ । उनले नेपालका युवा पुस्ताले यस्ता उपलब्धिबाट प्रेरणा लिनुपर्ने उल्लेख गरे ।

सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरूले श्रमिक अधिकार, सुरक्षित रोजगारी, र श्रम बजारको समावेशितामाथि छलफल गरेका थिए । नेपाल युनिकोमको सक्रियताले नेपालका श्रमिकहरूको आवाज अन्तर्राष्ट्रिय स्तरमा पुग्न सहयोग गरेको सहभागीहरूले बताएका छन् ।

पौडेलले आफ्नो कार्यकालमा श्रमिक अधिकार, समान अवसर र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिने बताउँदै सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array