भद्रपुर । झापा भद्रपुर – ८ का मतदाताले जितेर गाउँ नफर्किनेहरुलाई भोट नदिने प्रतिक्रिया दिएका छन् । शुक्रवार भद्रपुर विमानस्थल पूर्व क्षेत्रका मतदाताले जितेर गाउँ नआउनेहरुलाई अब मत नदिने बताएका हुन् ।
नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हरि बहादुर राजवंशीलाई सो क्षेत्रका बासिन्दाले ‘जितेपछि तपाई पनि नआउने होला’ भन्दै शंका व्यक्त गरे । राजवंशी गाउँमा हरि बहादुरलाई भने – हामी तपाईलाई भोट दिन्छौं, तर हामीलाई बिर्सन पाउनु हुन्न ।
पटक–पटक जिताएको उम्मेदवार गाउँ नफर्किएको भन्दै गुनासो गरेका मतदाताले विकासको बारेमा आफ्नै प्रतिनिधिसँग समेत कुरा राख्ने अवसर नपाएको बताए । यसअघि जिताएका उम्मेदवारलाई देख्न नपाएपछि उनीहरुले असन्तुष्ट व्यक्त गरिरहेका छन् ।
विद्यालयको पूर्वप्रअ समेत भइसकेका राजवंशीले जिते पनि हारे पनि जनताको बीचमा रहने प्रतिवद्धता गरेका छन् । उनले मतदातालाई मत दिए वा नदिन पनि साथमा रहने बताए । उनले झापा ३ का जनताको चहाना बमोजिम नै उम्मेदवार बनेको बताएका छन् । सुर्यमा मतदान गर्न इच्छुक मतदाताको आग्रहमा उम्मेदवार बनेको दावी गर्ने राजवंशीले भने – १२ वर्षमा खोला फर्काउने एमालेको चहानामा मतदाताको पूर्ण साथ छ ।
झापा ३ मा यसअघि नेकपा एमालेले राप्रपाका उम्मेदवारलाई सहयोग गर्दै आएको थियो । एमालेले राप्रपाको उम्मेदवारबाट क्षेत्रको विकासमा विभेद भोग्नुपरेको बताउदै आएको छ । क्षेत्रमा रहेका सबै पालिकाहरुलाई विकासमा समेट्ने काम हुन नसकेपछि आफूहरुले उम्मेदावारी दिनु परेको राजवंशीको भनाई छ ।
एउटा पालिकामा विकास गरेर क्षेत्रको विकास हुन सक्दैन, उनले भने, झापा ३ को विकासका लागि सबै पालिकामा समान हिसावले विकासको काम हुनुपर्छ । एमालेले यसअघि भोट दिए पनि विकास नपाएको उनीहरुको तर्क छ ।
यता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले विकासका काम बारे पत्रकार सम्मेलन गरेरै प्रगति विवरण सार्वजनिक गरिसकेका छन् । उनले विगत र वर्तमानलाई तुलना गरेर हेर्न आग्रह गरिरहेका छन् ।
झापा ३ मा नेपाली कांग्रेसबाट राजेन्द्र घिमिरे, एमालेबाट हरि बहादुर राजवंशी, राप्रपाबाट राजेन्द्र लिङदेन, नेपाली कम्युनिष्ट पार्टीबाट डिल्ली घिमिरे, श्रम संस्कृति पार्टीबाट दिपक तिम्सिना लगायत उम्मेदवार बनेका छन् ।
सो क्षेत्रमा ०४८ को संसदीय निर्वाचनमा एमालेका नेता द्रोणप्रसाद आचार्य विजयी भएका थिए । आचार्यको मुख्य प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद सिटौला थिए । आचार्यले १३ हजार ७ सय २१ मत ल्याउँदा सिटौला ९ हजार ८ सय २७ मत ल्याए ।
०५१ सालको मध्यावधि निर्वाचनमा पनि एमालेका पुष्पराज पोखरेल विजयी भएका थिए । पोखरेलका मुख्य प्रतिद्वन्द्वी पनि कांग्रेस नेता सिटौला नै थिए । पोखरेलले १५ हजार ६ सय ५२ मत ल्याउँदा सिटौला १४ हजार ५ सय ११ मत ल्याएर पराजित भएका थिए ।
०४८ र ०५१ मा एमालेले लगातार दुई पटक संसदीय निर्वाचन जितेको क्षेत्रमा कांग्रेसले विजयी सुरुवात गरेको थियो । एमालेका नारायण राजवंशीलाई पराजित गर्दै कांग्रेस नेता सिटौला पहिलोपटक सांसद बनेका थिए ।
०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन माओवादीका पूर्णसिंह राजवंशी विजयी भए । उनले कांग्रेस नेता सिटौलालाई पराजित गरेका थिए । राजवंशीले १६ हजार ६ सय ८५ मत ल्याउँदा सिटौलाले १४ हजार ४९ मत ल्याएका थिए । एमालेका पुष्पराज पोखरेलले ९ हजार ६ सय ५४ मत ल्याएर पराजित भएका थिए ।
०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिटौला दोस्रोपटक निर्वाचित भए । उनले १४ हजार ३ सय ५५ मत ल्याएर सांसद बने । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा अध्यक्ष लिङ्देनले ९ हजार २ सय ५३ मत ल्याएका थिए । संघीयतापश्चात् ०७४ सालको पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेसँगको तालमेलामा राप्रपाका त्यस बेलाका महामन्त्री लिङ्देन निर्वाचित भए ।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि एमालेसँग भएको गठबन्धनका कारण लिङदेन लगातार दोस्रो पटक सांसदमा निर्वाचित भएका थिए ।





