राज्य लक्ष्मी शाक्यलाई ‘कीर्तिपुर विशेष सम्मान

 

राजकुमार ओली
१८ साउन, काठमाडौं।

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत महिला उद्यमी समिति सदस्य तथा कीर्तिपुर उद्योग वाणिज्य संघकी अध्यक्ष राज्य लक्ष्मी शाक्यलाई ‘कीर्तिपुर विशेष सम्मान–२०८२’ बाट सम्मानित गरिएको छ।

सगरमाथा प्रतिष्ठान नेपालले आयोजना गरेको विशेष समारोहमा शाक्यलाई दीर्घकालीन उद्यम व्यवस्थापन, महिला सशक्तीकरणमा नेतृत्वदायी भूमिका र कीर्तिपुरको सामाजिक–आर्थिक विकासमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो।

समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा शाक्यलाई सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा सांसद राजेन्द्र केसी, प्रतिष्ठानका अध्यक्ष नरबहादुर तिर्केमगुलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष तिर्केमगुले शाक्यको प्रतिबद्धता, निष्ठा र साहसिक नेतृत्वका कारण कीर्तिपुरले पछिल्लो दशकमा नयाँ परिचय पाएको उल्लेख गर्दै यो सम्मान उद्यमशीलताको प्रेरणाका रूपमा रहेको बताए।

व्यवसाय र सामाजिक नेतृत्वको प्रेरक उदाहरण

राज्य लक्ष्मी शाक्य विगत दुई दशकदेखि व्यवसाय क्षेत्रमा सक्रिय छन्। उनले घरेलु उद्योगको प्रवर्द्धन, महिला नेतृत्वको सशक्तिकरण, र स्थानीय उत्पादनमा आधारित आत्मनिर्भरता अभियानमा उल्लेखनीय पहलकदमी गर्दै आएकी छन्।

उद्योग–व्यवसायमा पारदर्शिता, नवप्रवर्तन र व्यवसायिक नैतिकताका पक्षमा दृढ अडान राख्दै आएको शाक्यको नेतृत्वमा कीर्तिपुरलाई उद्यमशील नगर बनाउने अभियान व्यापक सराहनायोग्य रहँदै आएको छ।

महिला व्यवसायीहरूलाई सहजीकरण, बजार पहुँच विस्तार र नीतिगत पैरवीमा निरन्तर क्रियाशील रहँदै आएकी शाक्य अहिले नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन विभाग सभापति साथै महिला उद्यमी समितिमा सदस्यका रूपमा समेत क्रियाशील छन्।

विशिष्ट शुभकामना र आगामी अपेक्षा

समारोहमा बोल्दै विभिन्न वक्ताहरूले शाक्यको प्रेरणादायी यात्रालाई देशभरका महिला उद्यमीहरूका लागि मार्गदर्शनको स्रोतका रूपमा उल्लेख गर्दै आगामी दिनमा उहाँले अझ ठूला जिम्मेवारी सम्हाल्ने अपेक्षा व्यक्त गरे।

उद्योग तथा व्यवसाय क्षेत्रको समग्र रूपान्तरणमा महिलाहरूको सहभागिता सुनिश्चित गर्न शाक्यको नेतृत्व र सक्रियता निर्णायक हुने धारणा पनि कार्यक्रमका वक्ताहरूले राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array