राष्ट्रिय सहकारी बैंकको २३औं स्थापना दिवस सम्पन्न, अध्यक्ष गिरीको योगदानप्रति सम्मान

 

राजकुमार ओली १९ साउन काठमाडौँ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको २३औं स्थापना दिवस आज देशभरका सहकारी क्षेत्रका प्रतिनिधि, सदस्य संस्था र सहकार्यदाताहरूको सक्रिय सहभागितामा सभ्य र भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रममा बैंकले स्थापना कालदेखि सहकारी क्षेत्रको सशक्तिकरण, सहकारी संस्थाहरूको वित्तीय पहुँच विस्तार, तथा ग्रामीण आर्थिक विकासमा पुर्‍याएको योगदानलाई स्मरण गरिएको थियो। हाल बैंकसँग आवद्ध सदस्य संस्था संख्या १६ हजार ४ सय पुगेको छ। ती संस्थाहरूको निरन्तर सदस्यता, कारोबार र सहकार्यप्रति बैंकले विशेष आभार व्यक्त गरेको छ।

स्थापना दिवसको अवसरमा बैंकले प्रारम्भिक अवधिमा बैंकको परिकल्पना गरी सहकारी क्षेत्रका लागि एक केन्द्रीय वित्तीय संस्था खडा गर्न योगदान पुर्‍याउने सम्पूर्ण अभियन्ता, संस्थापक तथा सहकारी नेतृत्वप्रति नमन व्यक्त गरेको छ।

अध्यक्ष गिरीको नेतृत्वमा नयाँ उचाइ
बैंकका अध्यक्ष महेन्द्रबहादुर गिरीको नेतृत्वमा सहकारी बैंकले पछिल्ला वर्षहरूमा संस्थागत सुधार, डिजिटल बैंकिङको विस्तार, वित्तीय सुशासन, तथा सदस्य संस्थाहरूसँगको समन्वयमा उल्लेखनीय प्रगति गरेको छ। गिरीको दूरदर्शी रणनीति, नीतिगत स्पष्टता र सहकारी आन्दोलनप्रतिको प्रतिबद्धताले बैंकलाई देशको सहकारी वित्त प्रणालीको मेरुदण्ड बनाउने दिशातर्फ अग्रसर गराएको सरोकारवालाहरूको भनाइ छ।

उनको अध्यक्षतामा सहकारी वित्तीय अनुशासन, ग्रामीण भेगमा सहकारी सशक्तीकरण र सरकारसँग सहकार्य गर्दै नीति निर्माणमा प्रभावकारी उपस्थिति देखिएको छ। बैंकलाई व्यवसायिक उपलब्धिको नयाँ शिखरमा पुर्‍याउने र सदस्य संस्थाहरूको आर्थिक सबलीकरणमा लागिपरेको उनका प्रयासहरू प्रशंसायोग्य रहेको सहकारी अभियन्ताहरूले बताएका छन्।

कार्यक्रमको समापनमा अध्यक्ष गिरीले विगतको योगदान र भविष्यको योजनाबारे सम्बोधन गर्दै सबै सदस्य संस्था, कर्मचारी, संस्थापक, नियामक निकाय र सहकार्यदाताप्रति धन्यवाद ज्ञापन गर्दै सहकारी बैंकलाई अझ प्रभावकारी, पारदर्शी र सहकारी मूल्यमान्यता अनुरूप अघि बढाउने प्रतिबद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array