पूर्वखबर, सोलुखुम्बु, साउन २१ गते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोलुखुम्बु जिल्ला अन्तर्गत लिखुपिके गाउँपालिकाका सभापति रामचन्द्र बस्नेत बलात्कारको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार उनीमाथि २०८१ साउन ६ गते फरक क्षमता भएकी एक महिलामाथि बलात्कार गरेको गम्भीर आरोप लागेको छ। सोलुखुम्बु प्रहरीले उनलाई काठमाडौंको बनस्थली क्षेत्रबाट साउन १९ गते पक्राउ गरेको जनाएको छ।
प्रहरी निरीक्षक विकास राईका अनुसार, पीडित महिला सुस्त मानसिक अवस्थाकी हुन्। घटनाबारे उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो। प्रारम्भिक अनुसन्धानपछि बस्नेतलाई पक्राउ गरिएको र जिल्ला अदालत सोलुखुम्बुबाट आज सात दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थानीय तहको नेतृत्व तहका व्यक्ति संलग्न रहेकोले पार्टीभित्र समेत यस विषयले चासोको विषय बनेको छ।
सोलुखुम्बु प्रहरीले यस घटनालाई गम्भीरताका साथ अनुसन्धान अगाडि बढाइरहेको र आवश्यक प्रमाण संकलन भइरहेको जानकारी दिएको छ।





