विमानस्थल सुरक्षामा कडाइ : एसएसपी बसन्त रजौरेको नेतृत्वमा अवैध क्रियाकलापविरुद्ध प्रभावकारी अभियान

राजकुमार ओली,२३ माघ (पूर्व खबर)काठमाडौँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा प्रमुखको जिम्मेवारी सम्हालेसँगै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बसन्त रजौरेको नेतृत्वमा अवैध क्रियाकलापविरुद्ध कडाइ गरिएको छ। पछिल्ला दिनमा विमानस्थल क्षेत्रबाट सुन तस्करीलगायतका अवैध गतिविधिमा संलग्न व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन्, जसले सुरक्षा संयन्त्र थप प्रभावकारी बन्दै गएको संकेत गरेको छ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार पछिल्लो दुई दिनमै सुन तस्करीसँग सम्बन्धित दुई फरक घटनामा एक विदेशी नागरिक र विमानस्थलमै कार्यरत एक कर्मचारी पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी रजौरेका अनुसार यी घटनाहरू नियमित सुरक्षा निगरानी, सूक्ष्म चेकजाँच र आन्तरिक संयन्त्र सुदृढीकरणको परिणाम हुन्।
बुधबार बिहान करिब १० बजे दुबईबाट फ्लाई दुबईको उडानमार्फत काठमाडौँ आएका ४९ वर्षीय भारतीय नागरिक अबु बरकत कुदरते खुदा काजीलाई प्रहरीले शंकाका आधारमा नियन्त्रणमा लिएको थियो। प्रारम्भिक चेकजाँचका क्रममा अस्वाभाविक गतिविधि देखिएपछि थप अनुसन्धान गरिएको र मलद्वारभित्र सुन लुकाएको आशंका पुष्टि भएको एसएसपी रजौरेले जानकारी दिए।
प्रहरीले उनलाई शौचालयमा शौच गर्न लगाउँदा करिब १०० ग्राम तौलको पहेँलो रङको बेलनाकार अर्धठोस धातुको डल्ला बरामद भएको थियो। भन्सार छली गरी अवैध रूपमा सुन भित्र्याउन खोजेको आरोपमा ती भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
यसअघि मंगलबार बिहान विमानस्थलभित्र कार्यरत सरसफाइ कर्मचारीलाई पनि सुन तस्करीको प्रयासमा पक्राउ गरिएको थियो। सुनगाभा सगरमाथा सर्भिस प्रालिमा कार्यरत ४० वर्षीय डिक बहादुर राउत विमानस्थलभित्रको डस्टबिनबाट फोहोर सङ्कलन गरी बाहिर निस्कने क्रममा प्रहरी चेकिङ पोस्टमा परेका थिए। नियमित प्रक्रिया अनुसार फोहोरको पोका स्क्रिनिङ गर्दा भित्र लुकाइएको ४.४ ग्राम तौलको सुनको सिक्रीका टुक्रा फेला परेको थियो।
एसएसपी रजौरेका अनुसार यी घटनाहरूले तस्करहरूले अपनाउँदै आएका नयाँ–नयाँ शैली उजागर गरेको छ। “विमानस्थलभित्र कार्यरत जनशक्तिको समेत दुरुपयोग हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै आन्तरिक निगरानी प्रणालीलाई थप कडा बनाइएको छ,” उनले बताए।
बसन्त रजौरे नेपाल प्रहरीमा कार्यसम्पादनका आधारमा प्रभाव छोड्दै आएका अधिकृतमध्ये एक मानिन्छन्। यसअघि झापा जिल्लामा काँकरभिट्टा प्रहरी कार्यालय प्रमुखको रूपमा कार्यरत रहँदा उनले सीमा अपराध नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको खुला सीमाका कारण चुनौतीपूर्ण मानिने झापामा लागूऔषध ओसारपसार, मानव तस्करी, अवैध हातहतियार र सीमापार अपराध न्यूनीकरणमा उनको नेतृत्व प्रभावकारी देखिएको थियो।
सीमा क्षेत्रमै प्रहरी–समुदाय सहकार्य, सूचनामा आधारित कारबाही र अन्तरप्रदेशीय समन्वयलाई प्राथमिकता दिँदै उनले अपराध नियन्त्रणको मोडेल प्रस्तुत गरेको प्रहरी स्रोत बताउँछ। झापामा उनको कार्यकालमा आपराधिक घटनाको संख्यामा कमी आउनुका साथै अपराध अनुसन्धानको सफलता दर पनि बढेको प्रहरी तथ्याङ्कले देखाएको थियो।
विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा जिम्मेवारी सम्हालेसँगै रजौरेले त्यही कार्यशैलीलाई निरन्तरता दिएका छन्। जोखिम विश्लेषणका आधारमा सुरक्षा योजना, आकस्मिक चेकजाँच, प्रविधिको अधिकतम प्रयोग र मानवीय सूचनालाई प्राथमिकता दिँदै सुरक्षा संयन्त्र सुदृढ बनाइएको उनको भनाइ छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल प्रवेश र बाहिरिने प्रमुख नाका भएकाले यहाँ हुने अवैध गतिविधिले मुलुकको सुरक्षा, अर्थतन्त्र र अन्तर्राष्ट्रिय छविमा असर पार्ने प्रहरी अधिकारीहरू बताउँछन्। यही संवेदनशीलतालाई मध्यनजर गर्दै एसएसपी रजौरेले “शून्य सहनशीलता” को नीति अपनाइएको स्पष्ट पारेका छन्।
उनका अनुसार तस्करी वा अन्य अवैध क्रियाकलापमा जो–कोही संलग्न भए पनि कानुनी दायरामा ल्याइनेछ। “विदेशी नागरिक होस् वा विमानस्थलभित्रै काम गर्ने कर्मचारी, कसैलाई पनि छुट दिइँदैन,” उनले भने।
पछिल्ला कारबाहीहरूले विमानस्थल सुरक्षा प्रणालीमाथि जनविश्वास बढ्दै गएको देखिन्छ। सुरक्षा निकायका अधिकारीहरू एसएसपी रजौरेको नेतृत्वमा निरन्तरता पाए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अवैध कारोबारमुक्त बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्छन्।
नेपाल प्रहरीभित्र कार्यसम्पादन, अनुशासन र नतिजामा आधारित नेतृत्वका रूपमा उभिँदै गएका बसन्त रजौरेको भूमिका आगामी दिनमा अझ चासोको विषय बन्ने देखिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array