विश्वप्रकाश शर्मा पछि हटेपछि झापा १ मा पनेरुको चर्चा, बिमल आचार्यले झिके खुट्टा

राजकुमार ओली,  माघ मेचीनगर ।

झापा क्षेत्र नम्बर १ को राजनीतिमा यतिबेला एउटा नाम जनताको मुखमुखमा छ—सुवेशकुमार पनेरु। मेचीनगर–१० का स्थायी बासिन्दा पनेरु शक्ति, पद वा संयोगबाट होइन, निरन्तर सेवा, संघर्ष र इमान्दारीबाट उदाएका नेता हुन्। उनको राजनीतिक यात्रा जनताको घर–आँगनबाट सुरु भएर अहिले क्षेत्रीय बहसको केन्द्रमा आइपुगेको छ।
विद्यार्थी राजनीतिमा चेतनाको बीउ रोप्दै सुरु भएको उनको यात्रा तरुण दल हुँदै नेपाली कांग्रेसको जिम्मेवार नेतृत्वसम्म पुगेको हो। राजनीतिलाई अवसर होइन, दायित्वका रूपमा बुझ्ने पनेरुको यही सोचले वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा मेचीनगर–१० का मतदाताले उनलाई वडा अध्यक्षमा निर्वाचित गराएका थिए।
वडा अध्यक्ष बनेपछि पनेरु कुर्सीमा सीमित भएनन्। उनी टोल–टोल पुगे, समस्या सुने, समाधान खोजे। विकासका योजनामा मात्र होइन, सामाजिक सरोकारमा समेत उनको सक्रियता देखियो। सडक स्तरोन्नति, खानेपानी विस्तार, विद्यालय सुधार, ज्येष्ठ नागरिक सहयोग, विपद् व्यवस्थापनजस्ता कामले उनलाई ‘कागजका नेता’ होइन, ‘कामका नेता’को पहिचान दिलायो। स्थानीयका अनुसार उनी निर्णय गर्नेभन्दा अघि जनताको ढोका ढक्ढक्याउने नेतृत्व हुन्।
कोभिड–१९ महामारीको त्रासपूर्ण समयमा पनेरुको भूमिकाले झापा–१ मा उनको छवि झनै उचो बनायो। लकडाउन र संक्रमणको डरका बीच पनि उनी घरमै थुनिएनन्। संक्रमित परिवारको अवस्थाबारे बुझ्दै औषधी, मास्क र आवश्यक सामाग्री पुर्‍याए। विपन्न परिवारमा राहत वितरणदेखि सचेतना अभियानसम्म उनी अग्रपंक्तिमा देखिए। धेरैका लागि त्यो बेला उनी राजनीतिक नेता होइन, अभिभावक बने।
हाल उनी नेपाली कांग्रेस मेचीनगरका सभापति हुन्। पद बढे पनि उनको सरलता, पहुँच र जनमुखी शैली उस्तै छ। कार्यकर्तालाई साथमा लिएर संगठन मजबुत बनाउने र जनताको आवाज पार्टीभित्र पुर्‍याउने उनको अभ्यासले उनलाई स्थानीय तहदेखि क्षेत्रसम्म स्वीकार्य बनाएको छ।
झापा–१ को आगामी संसदीय समीकरणमा पनि पनेरुको नाम चर्चामा आउनुको कारण स्पष्ट देखिन्छ। यसअघिका सांसद विश्वप्रकाश शर्मा यसपटक उम्मेदवार नबन्ने चर्चा चलिरहँदा र अर्का नेता विमल आचार्य पनि चुनावी दौडमा नउत्रने संकेत देखिएपछि कांग्रेसभित्र भरपर्दो, जनतामाझ कामले चिनिएको र विवादरहित अनुहारको खोजी सुरु भएको छ। त्यही खोजको केन्द्रमा पनेरु परेका हुन्।
कांग्रेस कार्यकर्ताहरूका अनुसार झापा–१ मा पार्टीलाई जिताउन ‘भाषणभन्दा व्यवहार’ गर्ने नेता आवश्यक छ। स्थानीय तहमा सेवा र समन्वयको अनुभव बटुलेका पनेरु संगठन र जनताबीचको सेतु बन्न सक्ने क्षमताका कारण अगाडि आएका हुन्। उनले पार्टीभित्र गुटभन्दा एकतालाई जोड दिएका कारण पनि धेरैका लागि उनी स्वीकार्य उम्मेदवारका रूपमा देखिएका छन्।
झापा–१ मा विकास, रोजगारी, सीमा क्षेत्रको समस्या र युवाको राजनीतिक सहभागिताजस्ता विषय जटिल बन्दै गएका छन्। यस्ता चुनौतीका बीच जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने, संकटमा साथ दिने र व्यवहारिक राजनीति गर्ने नेतृत्वको आवश्यकता बढ्दो छ। यही सन्दर्भमा पनेरु केवल एक व्यक्तिको नाम होइन, कांग्रेसभित्रको सम्भावित नयाँ दिशा र जनआशाको प्रतीकका रूपमा उभिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array