शिवाकोटीको उदाहरणीय पहल : जन्मदिन मनाइयो आश्रम र विद्यालयमा, ‘केक संस्कार’ अन्त्यतर्फ सन्देश

 

राजकुमार ओली, ४ मङ्सिर ,  बाहुनडागी
जन्मदिनमा होटल–रेस्टुरेन्टमा केक काटेर मात्र रमाइलो गर्ने प्रवृत्तिलाई चुनौती दिँदै मेचीनगरका समाजसेवी सरद शिवाकोटीले आफ्नो छोराको जन्मदिन सामाजिक सेवासँग जोडेर मनाएका छन्। मेचीनगर–१३ का संगम शिवाकोटीको चालिसौँ जन्मदिनको अवसरमा परिवारले विद्यालय र आश्रममा पुगेर सहयोग वितरण गरेपछि यो अभियानले स्थानीय समुदायमा सकारात्मक सन्देश दिएको छ।

शिवाकोटी परिवारले मेचीनगर–४ बाउनडागिमा रहेको मानव सेवा आश्रममा जेष्ठ तथा अपाङ्गता भएका आश्रितहरूका लागि एक दिनको ‘मिस्टान्न भोजन’ सहित  १५ हजार रुपैयाँ बराबरको व्यवस्थापन गर्‍यो। सोही अवसरमा कृष्ण प्राथमिक विद्यालय मेचीनगर–१४ मा एक लाख रुपैयाँ अक्षयकोषसहित ‘एस एस शिवाकोटी ट्रस्ट’ स्थापना गरियो। त्यस्तै, मेचीनगर–१३ स्थित शान्ति प्राविका ४२ जना विद्यार्थीलाई जाडोका कपडा वितरण गरिएको छ।

“होटलमा केक काटेर जन्मदिन मनाउनु भन्दा शिक्षा र सहाराबाट वञ्चित बालबालिकासँग जन्मदिन मनाउन सके जीवनभरि रहने संस्कार बन्छ,” समाजसेवी सरद शिवाकोटीले हिमशिखर टेलिभिजनसँग बताए। उनका अनुसार छोराले पठाएको जन्मदिन खर्च आश्रमका जेष्ठहरू र विद्यालयका बालबालिकाको हितमा खर्चिन पाउँदा आफूहरुले सन्तोष महसुस गरेका छन्।

मानव सेवा आश्रमका सञ्चालक खगेन्द्र विश्वकर्माका अनुसार साना–ठूला दाताहरूको निरन्तर सहयोगले आश्रममा रहेका करिब १सय३१ जना मध्ये ७६जना आश्रितको दैनिकी चलिरहेको छ। “जन्मदिन, पर्व तथा अवसर पारेर आउने मुठीदान र सहयोग आश्रम सञ्चालनको आधार बनेको छ,” विश्वकर्माले भने। उनका अनुसार १३ महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट आश्रमको उद्घाटन भए पनि पछिल्ला दिनमा घोषणा गरिएको रकमसमेत नआउँदा सञ्चालनमा कठिनाइ बढेको र कसै ठूलो एनजीओ आइएनजीओबाट समेत सहयोग प्राप्त नभएको अवस्थामा चल्न मुस्किल परेको विश्वकर्मा बताउँछन्

यसैबीच, कृष्ण प्राविका अध्यक्ष अनिल ढुंगानाले अक्षयकोष स्थापनाले सीमान्तकृत तथा गरिबीको रेखामुनि रहेका बालबालिकाको शिक्षामा ऊर्जा थपिएको बताए। “शिवाकोटी परिवारको यस कदमले अन्य दाताहरूलाई पनि प्रेरणा दिएको छ,” ढुंगाना थप्छन्।

शान्ति प्राविका अध्यक्ष त्रिलोचन पौडेलका अनुसार विद्यालयमा अध्ययनरत ५७ मध्ये ४२ बालबालिकालाई न्यानो कपडा प्रदान गरिएकाले उनीहरूको दैनिक विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव पर्नेछ। विद्यालय बाहुन–क्षेत्री समुदाय क्षेत्रमै भए पनि सुकुम्बासी, सीमान्तकृत तथा श्रमिक परिवारका बालबालिकाले पढ्ने भएकाले दीर्घकालीन चुनौतीहरू विद्यमान रहेको अध्यक्ष पौडेलले बताए।

उद्योग–व्यवसाय केन्द्रित क्षेत्रमा अवस्थित यी विद्यालयमा अध्ययनरत श्रमिक वर्गका बालबालिकाको दैनिकी दयनीय रहेको विज्ञहरूले समेत बताएका छन्। यस्तो अवस्थामा स्थानीय स्तरबाट सुरु भएका सेवा–सहयोगले शिक्षाको पहुँच र जीवनस्तर सुधारमा टेवा पुग्ने उनीहरूको आकलन छ।

समाजसेवी सरद शिवाकोटी विगतदेखि नै सामाजिक तथा संस्थागत नेतृत्वमा सक्रिय छन्। चारालि खानेपानी संस्थाका संस्थापक अध्यक्ष, झापा उद्योग वाणिज्य सङ्घ चाराली शाखाका पूर्व अध्यक्ष, आपसी समाज साकोसा अध्यक्ष तथा पाउ–पाथिबारा घामका संस्थापकका रूपमा परिचित शिवाकोटीले सामुदायिक नेतृत्वबाटै परिवर्तन संभव हुने बताए। “हामीले सुरु गरेको अभियानले अरूलाई सेवा गर्न प्रेरणा देओस् भन्ने हाम्रो चाहना हो,” उनले भने।

जन्मदिन संस्कृतिमा ‘केक कटिङ’लाई मात्रै आवश्यक ठान्ने सामाजिक सोच बदल्न शिवाकोटी परिवारको आजको पहलले स्थानीयस्तरमा नयाँ संदेश दिएको छ। परिवारले देखाएको सामाजिक उत्तरदायित्वले मेचीनगरका विद्यालय र आश्रममा उत्साह थपिएको स्थानीयले बताएका छन्।
मेचीनगरको भूगोलमा लामो समयदेखि समाजसेवामा सक्रिय शिवाकोटी परिवारले भोलिका दिनमा समेत गृहनगरका आफ्ना जोखिममा परेका संस्थालाई सहयोग गर्नुपर्ने अनि मात्रै आफ्नो संस्कार र संस्कृति जग राख्न सकिने बताउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array