राजकुमार ओली, १९ असार दमक
दमक नगरपालिका–८ निवासी नुमा लिम्बु ‘चञ्चला’ समावेशी, गरिमायुक्त र समुदायमुखी पर्यटन अवधारणाको नवप्रवर्तनकर्ता टोलीमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्दै अन्तर्राष्ट्रिय मञ्चमा उक्लिएकी छन्।
नेपाल, भारत, केन्या, पेरु, मोरक्कोलगायत २० भन्दा बढी मुलुकका नवप्रवर्तनकर्ताहरूको समूहमा चञ्चलाको सहभागिता नेपाली पर्यटन, अपाङ्गता अधिकार र लैङ्गिक समावेशिताको क्षेत्रमा विशेष उपलब्धि मानिएको छ।
उनी तेस्रो लिङ्गी समुदायकी प्रतिनिधि र सामाजिक अभियन्ता भएकी नाताले, यो सहभागिताले नेपालको लैङ्गिक तथा सामाजिक विविधतालाई अन्तर्राष्ट्रियस्तरमा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
चञ्चला सुब्बा (नुमा लिम्बु) को जीवन संघर्ष सजिलो भने कहिल्यै रहेन। तेस्रो लिङ्गी पहिचानका कारण भोग्नुपरेका पारिवारिक, सामाजिक र सांस्कृतिक चुनौतीलाई आत्मबल, संवेदनशीलता र सिर्जनात्मकतामा रूपान्तरण गर्दै उनले आफूलाई सामाजिक परिवर्तनको यात्रामा समर्पित गरेकी छन्।
अपाङ्गता भएका व्यक्तिहरूका हकहित, जीवनस्तर सुधार र आत्मनिर्भरता अभिवृद्धिका लागि उनले स्थापना गरेको निलहिरा समाज आज समावेशी अभियानको नमुना संस्था बन्न पुगेको छ। सो संस्थामार्फत उनले अपाङ्गता भएका बालबालिका, महिला, तेस्रो लिङ्गी व्यक्ति तथा आर्थिक रूपमा पछाडि परेका समुदायहरूलाई शिक्षा, सीप, नेतृत्व र सशक्तीकरणका थुप्रै कार्यक्रम सञ्चालन गर्दै आएकी छन्।
चिया श्रमिक परिवारमा जन्मेकी चञ्चलाले शिक्षा, सीप र आत्मबोधमार्फत आफूलाई स्थापित गरिन। समाजले हेर्ने पारम्परिक दृष्टिकोणलाई चुनौती दिँदै उनले मानवअधिकार, लैङ्गिक समानता, अपाङ्गता अधिकार र समावेशी विकासका विषयमा स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमसम्म आवाज बुलन्द गर्दै आएकी छन्।
उनले भाग लिँदै गरेको नवप्रवर्तनकर्ता समूहले समावेशी पर्यटनको अभ्यास, पहुँचयुक्त पूर्वाधार, सामुदायिक सहभागिता र गरिमायुक्त अनुभवलाई केन्द्रमा राखी भविष्यको पर्यटन मोडल निर्माण गर्ने लक्ष्य राखेको छ।
चञ्चलाको सहभागिताले नेपाली पर्यटनमा विविधता, समावेशिता र लैङ्गिक संवेदनशीलताको विमर्श थप सशक्त हुने अपेक्षा गरिएको छ। उनको कार्ययात्रा, प्रतिबद्धता र सामाजिक चेतनाले अपाङ्गता भएका व्यक्तिहरू र तेस्रो लिङ्गी समुदायका लागि मात्र होइन, सिंगो समाजका लागि प्रेरणाको स्रोत बनेको छ।
उनको भनाइ छ, “म एउटा संघर्षशील पात्र हुँ, मेरो पहिचान अपाङ्गता, तेस्रो लिङ्गी र महिला–यी सबै हुन्। तर मलाई मेरो पहिचानभन्दा पनि म गरिरहेको कामले चिनोस् भन्ने चाहना छ।”
यस ऐतिहासिक उपलब्धिका सन्दर्भमा अपाङ्गता अधिकारकर्मी, समावेशी विकासकर्मी, समुदाय प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिहरूले चञ्चलालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।





