साहित्य चौतारीसँग स्रष्टा’ डिजिटल शृङ्खला सुरु हुँदै

बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापाले अङ्ग्रेजी नयाँ वर्ष २०२६, कवि शिरोमणि लेखनाथ जयन्ती, तथा रन्धोज नेम्बाङ ‘रङसाङ’ को १०३औँ जन्मजयन्तीको अवसरमा सम्पन्न विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूको समीक्षा सहितको प्रतिवेदन सार्वजनिक गरेको छ।
साहित्य चौतारीका  अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उक्त अवसरमा सम्पन्न शालिक अनावरण, जीवनीपरक कृति तथा स्मृति ग्रन्थ लोकार्पणलगायत कार्यक्रमसम्बन्धी समीक्षात्मक प्रतिवेदन प्रस्तुत तथा अनुमोदन गरेको हो।
बैठकले संस्थाको नयाँ डिजिटल अभियान अन्तर्गत ‘साहित्य चौतारीसँग स्रष्टा’ शीर्षकको नियमित कार्यक्रम सुरु गर्ने प्रस्तावसमेत पारित गरेको छ। कार्यक्रमको पहिलो शृङ्खला माघ १५ गतेबाट प्रसारणमा आउने जानकारी कार्यक्रमका निर्देशक तथा साहित्य चौतारी बिर्तामोड झापाका प्रेस सल्लाहकार भरत प्रसाईंले दिनुभयो।
उहाँका अनुसार आधुनिक डिजिटल युगमा स्रष्टा तथा सर्जकका अनुभव, अनुभूति र जीवनभोगाइलाई अभिलेखीकरण गर्दै भावी पुस्ताका लागि सुरक्षित राख्ने उद्देश्यले कार्यक्रमको अवधारणा अघि सारिएको हो।
बैठकमा साहित्य चौतारी नेपालका सल्लाहकार राजेन्द्र संग्रौला, वरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठ, सह–संरक्षक तथा महासचिव गौरव श्रेष्ठ, सचिव तुलसीप्रसाद निरौला, सहसचिव जिना अधिकारी, कोषाध्यक्ष भवानी गौतम, सह–कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ, सदस्यहरू मीना अधिकारी, कल्पना भट्टराई, मनिषा भट्टराईलगायतको उपस्थिति रहेको थियो।
डिजिटल प्लेटफर्मबाट प्रसारण हुने ‘साहित्य चौतारीसँग स्रष्टा’ कार्यक्रमको उद्घाटनका लागि माघ १५ गते विशेष कार्यक्रम आयोजना गरिनेछ। सो कार्यक्रममा उपस्थित हुन साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष, नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका अध्यक्ष तथा कार्यक्रमका परिकल्पनाकार देवीभक्त श्रेष्ठले सम्पूर्ण स्रष्टा, सर्जक तथा कला–साहित्यप्रेमीहरूलाई आग्रह गर्नुभएको छ।
कार्यक्रमका बीच साहित्य झापाका उपाध्यक्षले समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रत्येक महिनाको सनिबार साहित्य चौतारी बिर्तामोड झापाको अफिसियल युट्युब च्यानल, फेसबुक पेज र टिकटकमार्फत कार्यक्रम एकैसाथ प्रसारण गरिने जनाइएको छ।
केवल ३० मिनेटको अन्तरङ्ग संवादमा आधारित कार्यक्रममार्फत स्रष्टाका जीवन अनुभव, अनुभूति र सिर्जनात्मक यात्रालाई डिजिटल अभिलेखका रूपमा सुरक्षित गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्य राखिएको सह–संरक्षक, महासचिव तथा प्रविधि संयोजक गौरव श्रेष्ठले बताउनुभयो।
बैठकमा सहभागी कार्यसमिति सदस्यहरूले कार्यक्रम सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। युट्युब च्यानललाई राष्ट्रिय स्तरसम्म प्रभावकारी बनाउन सशक्त प्रचारप्रसार आवश्यक रहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array