बिर्तामोड, २५ कात्तिक :
नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित स्टुडेन्ट ट्यालेन्ट हन्ट ‘स्टुडेन्ट अफ द ईयर’को पहिलो अडिसन झापाको बिर्तामोडमा हुने भएको छ।
कार्यक्रमका क्रिएटिभ हेड इमरान अलीका अनुसार आगामी मंसीर ६ गते बिर्तामोडमा हुने अडिसनबाट देशभरका विद्यार्थीहरूको प्रतिभा खोज्ने अभियान सुरु हुनेछ। देशका विभिन्न १२ वटा शहरमा अडिसन कार्यक्रम तय गरिएको छ।
अलीका अनुसार प्रतियोगितामा भाग लिन विद्यार्थीहरूले ९९० रुपैयाँ (नौ सय उनान्सय रुपैयाँ) रजिस्ट्रेसन शुल्क बुझाउनुपर्नेछ। त्यसपछि फाइनलसम्म कुनै पनि अतिरिक्त शुल्क नलाग्ने उनले बताए। प्रतियोगिता १३ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीहरूका लागि खुला गरिएको छ।
‘स्टुडेन्ट अफ द ईयर’ का प्रोपाइटर दिव्य सापकोटाका अनुसार मंसीर ५ गते ट्रफी टुर आयोजना गरी मुख्य स्पोन्सर र साझेदार संस्थाबारे जानकारी गराइनेछ। बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा सापकोटाले यो प्रतियोगिता विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर भएको बताए।
कार्यक्रमकी सञ्चालिका इभा गिरीले विद्यार्थीभित्र लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यले सो ट्यालेन्ट हन्ट आयोजना गरिएको बताइन्। “देशभरका विद्यार्थीलाई एउटै मञ्चमा ल्याएर उनीहरूको क्षमता प्रमाणित गर्ने हाम्रो मुख्य लक्ष्य हो,” गिरीको भनाइ छ।
निर्णायक तथा युवा वैज्ञानिक आरिफ अलीले ‘स्टुडेन्ट अफ द ईयर’ मार्फत विद्यार्थीहरूले आफूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर पाउने बताए। उनका अनुसार देशभरका १३ शहरबाट २०० जना प्रतिभा छनोट गरिनेछन्।
कार्यक्रम संयोजक अस्विन तिम्सिनाले यो प्रतियोगिताले विद्यार्थीहरूलाई आत्मविश्वासी, सृजनशील र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे। उनले सबै विद्यार्थीहरूलाई सहभागिताका लागि आह्वान गर्दै भने, “यो प्लेटफर्मले तपाईंको भविष्यको दिशा तय गर्न सक्छ।”
प्रोड्युसर दिव्य सापकोटाले ‘स्टुडेन्ट अफ द ईयर’ विद्यार्थीहरूको क्षमता देखाउने राष्ट्रिय स्तरको प्लेटफर्म भएको उल्लेख गर्दै देशभरका विद्यार्थीहरूलाई सहभागिताका लागि आमन्त्रण गरे।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ नगद, ५ लाख मूल्य बराबरको छात्रवृत्ति, र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्ने छन्।
कार्यक्रमको सञ्चालन आरोग्य तिम्सिनाले गरेका थिए। यो शो हिमालय टेलिभिजनबाट प्रसारण गरिने आयोजकले जनाएको छ।





