राजकुमार ओली बिर्तामोड, ७ माघ
। झापा सदरमुकाम भद्रपुरको व्यापारिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यसहित आयोजना गरिएको झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव २०८२ आजबाट औपचारिक रूपमा सुरु हुँदैछ ।
झापा उद्योग वाणिज्य संघको आयोजनामा भद्रपुर–८ स्थित मेची रंगशाला परिसरमा आज उद्घाटन हुने महोत्सव माघ २१ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन समारोह आज विशेष कार्यक्रमका साथ सम्पन्न गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा १२० वटा व्यापारिक स्टल र १० वटा खानाका परिकार स्टल रहने छन् । उद्योग, व्यापार, कृषि तथा पर्यटन क्षेत्रका उत्पादन तथा सेवाको प्रदर्शनीसँगै बिक्री–वितरण गरिनेछ । हरेक दिन खेलकुद गतिविधि, विविध मनोरञ्जनात्मक कार्यक्रम तथा हरेक साँझ ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहने मूल आयोजक समितिले जनाएको छ ।
झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक राजकुमार राईका अनुसार महोत्सवले झापा जिल्लाको आर्थिक तथा सामाजिक उत्थानमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । “समृद्धि आधार, आर्थिक विकासः कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवले आन्तरिक बजार सवलीकरण, व्यवसायिक उत्थान तथा निकासीयोग्य वस्तुको प्रवद्र्धनमा जोड दिने लक्ष्य राखेको उहाँले बताउनुभयो ।
महोत्सवको संरक्षक भद्रपुर नगरपालिका रहेको छ भने अतिथि सत्कार समिति समेत गठन गरी सम्पूर्ण तयारी पूरा गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सव अवधिभर १० करोड रुपैयाँभन्दा बढी कारोबार हुने र एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।
हिजो पत्रकार सम्मेलनमा कोशी प्रदेश सभा सदस्य छविलाल चुडाल, भद्रपुर नगर उपप्रमुख राधा कार्की, वडा नम्बर ८ का अध्यक्ष गौरव सुब्बा मनोज, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी प्रसान्त लगायतले महोत्सवले वर्तमान आर्थिक चुनौतीबीच उद्योगी–व्यवसायीलाई आफ्ना उत्पादन र सेवा प्रवर्द्धन गर्ने महत्वपूर्ण प्लेटफर्म प्रदान गर्ने धारणा राख्नुभएको थियो ।
आज उद्घाटनसँगै सुरु हुने महोत्सवले भद्रपुर मात्र नभई समग्र झापाको आर्थिक गतिविधि चलायमान बनाउने विश्वास आयोजकले लिएको छ ।





