२८६२औ सोनाम ल्होछार अवसरमा अर्जुनधारामा फुटबल प्रतियोगिता आयोजना हुँदै

बिर्तामोड, २२ पुष (पूर्व खबर)
झापाको अर्जुनधारामा २८६२औँ सोनाम ल्होसार पर्व भव्य रूपमा मनाइने भएको छ । पर्वको अवसरमा वृहत सांस्कृतिक कार्यक्रमसँगै भेट्रान्स फुटबल प्रतियोगिता समेत आयोजना गरिनेछ ।
मञ्जुश्री पात्रोअनुसार सर्प वर्ष समाप्त भई घोडा वर्ष सुरु हुने अवसरमा बौद्धमार्गी तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसार पर्व आगामी माघ ५ गतेदेखि सुरु हुँदैछ ।
आयोजक नेपाल तामाङ घेदुङ अर्जुनधारा नगरसमितिले आइतबार पत्रकार सम्मेलन गर्दै माघको पहिलो साता विविध कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो । घेदुङ अर्जुनधाराका अध्यक्ष बृखकुमार गोले तामाङका अनुसार अर्जुनधारा–३ कैदलेस्थित ड्रुक नर्बु छ्योर्लिङ गुम्बाको स्तरोन्नतिलाई मुख्य उद्देश्य बनाएर यस वर्ष ल्होसार पर्व मनाउन लागिएको हो ।
कार्यक्रमअनुसार माघ ९ गते विशेष पूजाआजा गरिनेछ भने माघ १० गते विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागितामा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । सांस्कृतिक कार्यक्रममा गायिका प्रीति आले र तामाङ सेलो गायक विशाल थिङले मुख्य प्रस्तुति दिने आयोजकले जनाएको छ ।
यसैगरी, ल्होसार पर्वकै अवसरमा माघ ३ गतेदेखि ५ गतेसम्म विभिन्न क्लबहरूबीच भेट्रान फुटबल प्रतियोगिता आयोजना गरिनेछ । घेदुङका नगर सहसचिव धनबहादुर बल तामाङका अनुसार प्रतियोगितामा झापा र इलामका आठ टिम सहभागी हुनेछन् । प्रतियोगितामा आयोजकसहित धुलाबारी, बुट्टाबारी, सैनिक, बिर्तामोड, दूधे, खुदुनाबारी र इलामको बसन्त थाक्ले भेट्रान टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको विजेताले नगद ४० हजार र उपविजेताले नगद २० हजार रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । भेट्रान फुटबल अर्जुनधारा–१ मदनपुरस्थित सांस्कृतिक खेल मैदानमा सञ्चालन हुनेछ ।
भेट्रान फुटबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमसहित सोनाम ल्होसार पर्व सम्पन्न गर्न ८ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने आयोजकको अनुमान छ ।
घेदुङकी सचिव निरमाया वाइवा तामाङले सञ्चालन गरेको पत्रकार सम्मेलनमा अर्जुनधारा नगरपालिकाकी बोर्ड सदस्य चन्द्रा तामाङ, वडा सदस्य मदन लिमेल मगर, अग्रज सलबहादुर गोले, सन्तबहादुर गोले तथा अर्जुनधारा नगर खेलकुद विकास समितिकी सदस्य निशा मोक्तानलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array