राजकुमार ओली, १६ मङ्सिर:बिरतामोड, झापा ।
उदयशील महिला सहकारी संस्थाले आफ्नो १८औं साधारणसभाको अवसरमा ज्येष्ठ सदस्यलाई सम्मान गर्दै महिलाको आर्थिक सशक्तीकरणतर्फको अभियानलाई थप सुदृढ गरेको छ। कार्यक्रममा सहकारीकी वरिष्ठ सदस्य तथा ८० वर्षीय प्रमुख अतिथि गयासरी राजवंशीले समान उमेरकी ८० वर्षीया नारसि धिमाललाई विशेष सम्मान प्रदान गरिन्। सहकारीले ज्येष्ठलाई सम्मान गर्ने परम्परा संस्थाको मूल मूल्य र सामाजिक उत्तरदायित्वको प्रतिबद्धताको रुपमा प्रस्तुत गरिएको जनाइएको छ।
बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सहकारीमा हाल ९ सय ४७ महिला सदस्य आवद्ध छन्। साधारणसभाको अवसरमा सहकारीले धिमालसहित एक दर्जनभन्दा बढी उत्कृष्ट सदस्यलाई सम्मान गरेको हो। सम्मानित हुनेमध्ये बिर्तामोड–३ की दुर्गा राजवंशी, वडा नं. १ का अरुण दास, डोरा राजवंशी, अर्जुन राजवंशी, अमिता पटेल, ज्योतिपुरी अस्मिता गजुरेल, रणमाया दगाली मगर, सूर्यकुमार राई र जानुका लामालगायत रहेका छन्।
त्यसैगरी उत्कृष्ट कर्जा व्यवस्थापन तथा समयमै भुक्तानी गर्ने सदस्यतर्फ रञ्जना आङ्बो, अञ्जना काम्माङ, हरिमाया तामाङ, तेजकुमारी मैनाली, कल्पना नेपाल, लोरुपी धिमाल, शान्ति राजवंशी र मोहम्मद अफताबलाई सम्मान गरिएको छ। सहकारीले समयपालन, कर्जा परिचालनमा जिम्मेवारी टोली र आर्थिक शुचिता कायम गर्ने सदस्यलाई नियमित रूपमा प्रोत्साहन गर्दै आएको बताइएको छ।
कार्यक्रममा सहकारीकी अध्यक्ष राधा राईले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्। उनका अनुसार सहकारीको सेयरपुँजी १ करोड ४ लाख ३६ हजार ६०० रुपैयाँ, बचत १ करोड ५६ लाख रुपैयाँ, लगानी २ करोड ४५ लाख रुपैयाँ र आम्दानी ४९ लाख रुपैयाँ रहेको छ। उनले सहकारीले पारदर्शिता, सदस्य विस्तार र महिला उद्यमशीलता विकासलाई प्राथमिकतामा राखेको उल्लेख गरिन्।
लेखा समितिकी संयोजक सरिता अधिकारीले सहकारीले महिलालाई लक्षित गर्दै आर्थिक पहुँच विस्तार, आयआर्जनका अवसर सिर्जना र उद्यमशीलता प्रवर्द्धनमा निरन्तर काम गरिरहेको जानकारी दिइन्। उनका अनुसार बिर्तामोड तथा आसपासका बस्तीमा सहकारीका गतिविधिले महिलाको आत्मनिर्भरता अभिवृद्धिमा योगदान पुर्याउँदै आएको छ।
साधारणसभामा सहकारीको ऋण व्यवस्थापनसम्बन्धी विवरण रञ्जना दुलाल ओलीले प्रस्तुत गरिन्। कार्यक्रमको सञ्चालन कर्जा प्रमुख कल्पना अधिकारीले गरेकी थिइन् भने कर्मचारी ममता धिमालले सहभागीहरूलाई स्वागत गरेकी थिइन्।
सहकारीद्वारा ज्येष्ठ सदस्यप्रति व्यक्त गरिएको सम्मान, महिलामुखी लगानी तथा आर्थिक पारदर्शिताले उदयशील महिला सहकारीलाई स्थानीय तहमा आदर्श सहकारीका रूपमा स्थापित गरिरहेकोसञ्चालक परिवारका तीर्थ सिग्देल ले बताएका छन्।





