प्रणामी व्यवसायी संघ झापाको अध्यक्षमा टहल दास ओली निर्वाचित
(झापा, १८ साउन, पूर्व खबर

प्रणामी व्यवसायी संघ नेपाल, जिल्ला कार्य समिति झापाको अध्यक्षमा युवा व्यवसायी टहल दास ओली निर्वाचित भएका छन्।

कनकाई नगरपालिका–४ स्थित श्रीकृष्ण प्रणामी मन्दिर माईधाममा सम्पन्न भेलाबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

झापाका ३९ वटा श्रीकृष्ण प्रणामी मन्दिर तथा सत्सङ्ग भवनका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न भेलामा श्रीकृष्ण प्रणामी सत्सङ्ग सेवा परिषद् झापा र प्रणामी व्यवसायी संघ नेपालको समन्वयमा प्रतिनिधिमूलक सहभागिता रहेको थियो।

कार्यक्रमको संयोजन सत्सङ्ग सेवा परिषद् झापाका सदस्य दिनोज बजगाईंले गरेका थिए। परिषद्का अध्यक्ष विष्णु प्रसाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सहकोषाध्यक्ष अर्जुन वाग्ले रहेका थिए भने विशिष्ट आतिथ्य प्रणामी व्यवसाय नेपालका केन्द्रीय अध्यक्ष विष्णु वाग्लेले ग्रहण गरेका थिए।

कोशी प्रदेशकी सांसद सविना कट्टेल बजगाईं, युवा परिषद नेपालका उपाध्यक्ष मदन अधिकारी, सत्सङ्ग अध्यक्ष विष्णु प्रसाईं लगायतले सामाजिक, आध्यात्मिक र व्यवसायिक संयोजनका माध्यमबाट समुदायको विकासमा टहल दास ओलीको भूमिकाको प्रशंसा गरेका थिए।

नयाँ नेतृत्वमा टहल दास ओली

अध्यक्षमा निर्वाचित टहल दास ओलीले संघीय सोच र सामाजिक समर्पणका आधारमा प्रणामी व्यवसायीहरूबीच एकता, उद्यमशीलता र उत्तरदायी नेतृत्व विकासमा आफू केन्द्रित रहने बताए। “धार्मिक आस्थाका साथ व्यवसायिक प्रतिबद्धता बोकेका हामी प्रणामीहरूबीच संस्थागत समन्वयलाई अझ मजबुत बनाउँछौं,” उनले उद्घोष गरे।

ओलीका अनुसार व्यवसाय, सेवा र संस्कारलाई एउटै सूत्रमा गाँस्दै संघलाई आगामी दिनमा सामाजिक उत्थान, उद्यमशीलता प्रोत्साहन र युवा सहभागिता केन्द्रित रणनीतिमा लैजाने योजना रहेको छ।

निर्वाचित नयाँ समिति यस प्रकार रहेको छ:

  • उपाध्यक्ष: दीपक शिवाकोटी, गोविन्द कट्टेल
  • सचिव: चेतन खतिवडा
  • सहसचिव: दिनेश भट्टराई
  • कोषाध्यक्ष: मोहन अधिकारी
  • सहकोषाध्यक्ष: दीपा खरेल
  • सदस्यहरू: शंकर प्रसाद पाण्डे, श्याम कुमार बस्नेत, पारसमणि कडरिया, हेमन्त ढकाल, टिकाराम उप्रेती, निर्मला गिरी, सावित्रा आचार्य पाण्डे

सामाजिक संलग्नता र समर्पणको उदाहरण

टहल दास ओलीले विगतदेखि नै विभिन्न सामुदायिक तथा धार्मिक कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। व्यवसायसँगै सामाजिक उत्तरदायित्वमा पनि उनले विशेष ध्यान दिने गरेका छन्। धर्म, सेवा र संगठनलाई एकै छातामा ल्याउँदै स्थानीय उद्यमशीलता, युवा सशक्तिकरण र सामुदायिक सहकार्यलाई जोड दिन उनले प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सत्सङ्ग सेवा परिषद्का उपाध्यक्ष देवीप्रसाद खनाल, महासचिव कालिप्रसाद रिजाल, युवा परिषद उपाध्यक्ष कुमार कार्की, महिला समिति अध्यक्ष शान्ता मैनाली, बाणिज्य संघका प्रतिनिधिहरू, विभिन्न मन्दिर समितिका अध्यक्षहरू तथा सयौँ सहभागीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य युवा परिषद झापाका अध्यक्ष समर्पण खतिवडाले गरेका थिए भने सञ्चालन संयोजक दिनोज बजगाईंले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array