Donald Trump’s actions in Venezuela do not make America safer, stronger, or more affordable.
काठमाडौँ, २०पुष(पूर्व खबर)
अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नुभएकी डेमोक्राट लिडर कमला ह्यारिसको भनाई हो यो । ट्रम्पले जे गरे, विश्व हेरेको हेर्यै छ । अमेरिकाले भेनेजुयलामा जे गरेको छ, त्यो देखेर यो सपना हो कि विपना हो भनेजस्तो छ । एउटा सार्वभौम मुलुकमा पसेर अमेरिकाले त्यहाँको राष्ट्रपति र उहाँकी पत्नीलाई अपहरण गरेर लगेको छ । आजको सभ्य भनिने विश्वमा यस्तो पनि हुनसक्छ र ? म छक्क परेको छु । पूरा विश्व नै चकित भएको छ ।
भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको अपहरण हुँदा मलाई केपी शर्मा ओलीको प्रकरणमा ध्यान गयो । भदौ २३ र २४ को विध्वंश सफल पार्न सकेका थिएनन् भने आततायीहरुले अर्काे प्लान बनाउँथे । अर्काे प्लान सफल नभएमा अझ अर्को प्लान बनाउँथे । कुनै पनि प्लान सफल हुन सकेन भने भेनेजुयला शैली अपनाउँथे । मेरो भनाईको सार के भने आफ्नो देशको स्वाभिमान, स्वार्थ र हित चिताउने, हितमा काम गर्ने साना देशका शासकहरु कोही पनि सुरक्षित छैनन् । केपी ओलीलाई भदौ २३ र २४ मञ्चन गरेर सत्ताच्यूत गरियो, मदुरोलाई अपहरण गरियो । इरानमा तख्तापलटको प्रयास भइरहेको छ । विदेशी स्वार्थ पूरा नगर्ने, आफ्नो देशको स्वार्थलाई सर्वाेपरी ठान्ने केपी ओली जस्ता सरकार प्रमुखहरु कोही पनि सुरक्षित छैनन् । आजको विश्वका साम्राज्यवादी शक्तिहरुलाई भोलोदोमिर जेलेन्स्की जस्ता आफ्नो देश ध्वस्त पार्ने आज्ञापालक चाहिन्छ ।
निकोलस मदुरोले भेनेजुयलाको खनिज, ग्याँस, पेट्रोलियम जस्ता प्राकृतिक संशाधनहरु अमेरिकाको जिम्मा लगाउन मान्नुभएन । आफ्ना प्राकृतिक संशाधनले आफ्नै जनतालाई धनी बनाउने, जनतालाई सेवा सुविधा दिने बाटो अपनाउनुभयो । अमेरिकाको स्वार्थलाई वेवास्ता गर्दै आफ्नो देश भेनेजुयलाको स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुभयो । त्यसैको परिणाम हो मदुरोले अपहरित भएर अमेरिका पुग्नुपरेको छ ।
निकोलस मदुरो आफ्नो देश र जनताप्रति कति समर्पित थिए भन्ने अहिले विश्वव्यापी चर्चा भइरहेको छ । कतिसम्म भने स्वयं अमेरिकाका प्रभावशाली नेता तथा बुद्धिजीवीहरु पनि मदुरोको अपहरणलाई अपराध भनिरहेका छन् । उनीहरुले ट्रम्पलाई अपराधी भनिरहेका छन् । आफ्नो देशको हितमा उभिने नेतालाई गरिएको अपहरणको विरुद्ध विश्वभरीका न्यायप्रेमी जनता उभिएका छन् ।
अमेरिकाले भेनेजुयलाको देशभक्त सरकारलाई अपदस्त गर्न लामो समयदेखि षडयन्त्र गर्दै आएको थियो । त्यहाँका एकजनालाई नोबेल पुरस्कार दिलाएर मदुरो सरकार विरुद्ध उभ्याएको थियो । गृहयुद्ध गराउन खोजेको थियो । समानान्तर सरकार बनाउन लगाएको थियो । कसै गर्दा पनि सरकार ढाल्न सकेन । त्यहाँका जनताको ब्रेन ह्याक गर्ने प्रयास गरिरह्यो । मदुरो सरकारलाई बदनाम बनाउन, मदुरोलाई भ्रष्ट र राक्षस जस्तो बनाउन ठूलो प्रचार अभियान चलायो । अन्तिममा मदुरोलाई अपहरण नै गरेर लग्यो ।
के आजको विश्वमा आफ्नो देशको हित चिताउन नपाइने हो ? आफ्नो देशको स्वार्थ रक्षा गर्न नपाइने हो ? विश्व परिघटनामा न्याय र समानताको पक्ष लिन नपाइने हो ? वडो विचित्र अवस्था उत्पन्न भएको छ ।
यो प्रसंगमा म के स्मरण गर्न चाहन्छु भने प्रधानमन्त्री भएको बेला केपी ओलीले बारम्बार भन्ने गर्नुहुन्थ्यो, देश सानो या ठूलो हुनसक्छ तर सार्वभौमसत्ता सानो या ठूलो हुँदैन । यस्तो भनाई वापत नै ओलीलाई सत्ताच्यूत गरिएको हो कि होइन ? नेपाली जनताले गम्भीर हुनुपर्ने बेला आएको छ । केपी ओलीलाई सत्ताच्यूत गर्न विदेशी शक्तिहरुले के मात्रै गरेनन् होला ? नेपालीले गम्भीर भएर नियाल्न जरुरी छ । भदौ २३ र २४ मञ्चनपछि मात्र होइन, त्यसपछिका घटनाक्रम हेर्दा के देखिन्छ भने यिनीहरुले केपी ओलीलाई सत्ताच्यूत गरे तर समाप्त पार्न सकेनन् । केपी ओली र नेकपा एमाले पहिलेभन्दा बलियो बनेर नेपाली समाजमा उभिएको हामी देख्न सक्छौं । त्यसैले केपी ओली विरुद्धका षडयन्त्रको श्रृङखला सकिएको छैन । केपी ओली जनता बीचको नेता भएकाले समाप्त पार्न सकिँदैन भन्ने उनीहरुले बुझ्न सकेको देखिएन ।
मदुरोले आफ्नो देशको प्राकृतिक सम्पदा विदेशीलाई सुम्पन मान्नुभएन । यता केपी ओलीले आफ्नो देशको भूमि र प्राकृतिक सम्पदा विदेशीलाई जिम्मा दिन मान्नुभएन । बरु, आफ्नो देशको सम्पूर्ण भूमि समेटेर नयाँ मानचित्र जारी गर्नुभयो । त्यसैले यिनीहरुले केपी ओलीलाई मदुरोको हालतमा पुराउने प्रयास गरेका थिए, सत्ताच्यूत गर्न सफल भए तर समाप्त पार्न सकेनन् ।
भेनेजुयलामा जे भयो, त्यसबाट विश्व नै चिन्तित भएको छ । विश्व फेरि द्धन्द, अशान्ति र अस्थिरता तर्फ उन्मुख भएको छ । विश्वमा अत्याचारीहरुले जे गरे पनि हुने अवस्था आएको छ । तर, न्याय कहिले मर्दैन, न्याय र सत्यलाई केहीेबेर पराजित गर्न सकिन्छ तर सधै सकिँदै न । भेनेजुयलाका न्यायप्रेमी जनताको जित हुनेछ । यता नेपालमा पनि न्याय, समानता, राष्टिय हित, देशको स्वाभिमानको पक्षमा उभिएकाहरुले जित्नेछन्, नव जेलेन्स्कीहरु पराजित हुनेछन् । जेलेन्स्कीका नेपाली अवतारहरुलाई परास्त गर्नैपर्छ नत्र नेपाल देशको स्वतन्त्र अस्तित्व र सगरमाथा झैं ठडिएको स्वाभिमान रक्षा हुने छैन ।
अन्तिममा, भेनेजुयलाको सार्वभौमिकता, स्वाभिमान र त्यहाँका जनताको पक्षमा रहेको घोषणा गर्दछु ।
लेखक -गोविन्द थापा नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ।
