राजकुमार ओली, १८माघ ,मेचीनगर ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै गर्दा झापाको निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेद्वारहरूको चहलपहल तीव्र बन्दै गएको छ। उम्मेद्वारहरू गाउँ पस्दैछन्, हात जोड्दैछन्, मत माग्दैछन् । तर, मतदाताका माग भने नयाँ छैनन् — दशकौँदेखि उस्तै ।
यही परिवेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार रामचन्द्र उप्रेती भने अरूभन्दा फरक शैलीमा टोल–टोल पुगिरहेका छन्। उनी ठूला सभा, मञ्च र नाराभन्दा बढी किसानका खेत, सुकुम्बासी बस्ती, सहकारीका बैठक र गाउँका चौतारीमा देखिन थालेका छन्। यसले उनलाई ‘भुईँमान्छेका साथी’ का रूपमा प्रस्तुत गर्ने प्रयास स्पष्ट देखिन्छ।
सहकारीबाट राजनीतिसम्मको यात्रा
रामचन्द्र उप्रेती झापा क्षेत्रमा नयाँ नाम होइनन्। लामो समयदेखि सहकारी अभियानमा सक्रिय उप्रेती सामाजिक, कृषि र उद्योगका क्षेत्रमा काम गर्दै आएका अनुभवी व्यक्ति हुन्। बामपन्थी राजनीतिमा सक्रिय रहँदा उनले जेल जीवनसमेत बिताएका छन्। उनी आफूलाई ‘नेताभन्दा पहिले सहकारी अभियन्ता’ मान्छन्।
उप्रेतीको दाबी छ— सहकारीले नै उनलाई भुईँमान्छाको पीडा नजिकबाट बुझ्न सिकाएको हो। “सहकारीमा किसानको ऋण, मल, बीउ, बजार, मूल्य सबै कुरा जोडिन्छ,” उनी भन्छन्, “त्यही अनुभव लिएर म गाउँ–गाउँ पुगेको हुँ।”
किन टोल–टोलमा पुग्दैछन् उप्रेती?
झापा क्षेत्र नम्बर १ मा मेचीनगरका १५, बुद्धशान्तिका चार र भद्रपुरका दुई वडा गरी २१ वडा पर्छन्। यहाँ कुल मतदाता संख्या एक लाख ३१ हजारभन्दा बढी छ। क्षेत्र भौगोलिक रूपमा फराकिलो र सामाजिक रूपमा विविध छ।
उप्रेतीले बुझेको यथार्थ के हो भने— यहाँका समस्या भाषणले होइन, टोलमै पुगेर सुन्नुपर्छ। यही कारण उनी आफ्ना नेता–कार्यकर्तासँगै बजार मात्र होइन, दुर्गम गाउँ, सुकुम्बासी बस्ती र किसानका खेतसम्म पुगिरहेका छन्।
मेचीनगर–१५ ज्यामिरगढीका स्थानीय कुलबहादुर कार्की भन्छन्, “नेताहरू चुनावमा मात्रै आउँछन् । उप्रेती चाहिँ समस्या सुन्न बसे ।” कार्कीले हडिया नदी कटान, सिँचाइ, पुल, सडक र कालोपत्रेको माग उप्रेतीसमक्ष राखेका छन्।
मतदाताका उस्तै माग, उस्तै पीडा
उप्रेती जहाँ पुगेका छन्, त्यहाँ मतदाताका माग उस्तै सुनिन्छन् — मल, बीउ, सिँचाइ, खानेपानी, सडक, रोजगारी र लालपुर्जा।
नहरको समस्याले खेती गर्न नसकिएको भन्दै स्थानीय योगेन्द्र पोख्रेलले गुनासो गरे। “मल पाउन भारत जानुपर्छ, त्यो अवैध हुन्छ,” उनी भन्छन्, “नेता सबैले सुने, तर समाधान भएन।”
सन्थाल समुदायका प्रकाश सोरेन भने आफ्नो पहिचान र अधिकारका सवाल उठाउँछन्। “सोराय पर्वमा राष्ट्रिय बिदा चाहिन्छ,” उनी भन्छन्, “हामीलाई बुझ्ने र बोलिदिने नेता चाहियो।”
यी आवाजहरू उप्रेतीका लागि चुनावी भाषणको सामग्री मात्र होइनन् । उनी भन्छन्, “यही समस्या समाधान नगरे राजनीति अर्थहीन हुन्छ।”
उप्रेतीको चुनावी एजेन्डा
उप्रेती विकासलाई ‘जादु’ वा ‘चमत्कार’ का रूपमा होइन, प्रक्रियागत रूपमा हेर्छन्। उनका अनुसार देश आत्मनिर्भर नभएसम्म गाउँको समस्या समाधान हुँदैन।
“श्रम र परिश्रमको सम्मान, कृषि व्यावसायिकता, स्वदेशी उत्पादनको प्रयोग र बजारको सुनिश्चितता मेरो मुख्य एजेन्डा हो,” उप्रेती भन्छन्।
उनले शिक्षा र स्वास्थ्य सुधार, भ्रष्टाचार अन्त्य, सुशासन र युवा विदेश पलायन रोक्नुपर्नेमा जोड दिएका छन्। “देशमै काम र सम्मान पाए युवाले किन विदेश जान्छन्?” भन्ने उनको प्रश्न छ।
प्रतिस्पर्धा र चुनौती
झापा–१ मा १५ जना उम्मेद्वार मैदानमा छन्। अधिकांशका लागि यो संसदीय प्रतिस्पर्धा पहिलो हो। उप्रेतीका लागि पनि चुनौती कम छैन। तर, उनी प्रतिस्पर्धालाई मतदातासँगको सम्बन्धबाट जित्न चाहन्छन्।
उप्रेती भन्छन्, “मतदाता मालिक हुन् । नेता सेवक।” यही सोचका कारण उनी टोल–टोल पुग्दैछन्, कुरा सुन्दैछन् र नोट गर्दैछन्।
भुईँमान्छेका साथी बन्ने प्रयास
उप्रेती साँच्चै भुईँमान्छेका साथी बन्छन् कि बन्दैनन् — त्यो निर्वाचनपछि देखिने कुरा हो। तर, अहिले उनले रोजेको बाटो भने स्पष्ट छ — मञ्चभन्दा माटो नजिक, भाषणभन्दा पीडा नजिक।
झापा–१ का मतदाता पनि यही हेर्न चाहन्छन् — को केवल भोट माग्न आयो, र को समस्या बोकेर फर्कियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *