बिर्तामोड — नेकपा एमालेका युवा नेता तथा बिर्तामोडका चिरपरिचित व्यक्तित्व अर्जुन मैनालीले नेकपा एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
मैनालीले आज सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाह तथा स्थानीय रास्वपा नेताहरूसँगको फोटो सार्वजनिक गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन्। उनले सार्वजनिक गरेको वक्तव्यमा २०८२ साल १० महिना २० गतेदेखि औपचारिक रूपमा एमाले परित्याग गरेको स्पष्ट उल्लेख गरेका छन्।
एमालेमा रहँदा सहयोग गर्ने आदरणीय नेतागण, सहयात्री साथीहरू तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गर्दै मैनालीले आजकै मितिदेखि आफू रास्वपामा आबद्ध भएको जानकारी गराएका छन्। वक्तव्यको अन्त्यमा उनले ‘जय घण्टी’ लेख्दै आफ्नो नयाँ राजनीतिक यात्राको औपचारिक घोषणा गरेका छन्।
मैनालीको रास्वपामा प्रवेशलाई बिर्तामोडको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्लो समय युवाहरूको आकर्षण रास्वपातर्फ बढ्दै गएको सन्दर्भमा उनको प्रवेशले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।
मैनाली यसअघि बिर्तामोड उद्योग वाणिज्य संघको महासचिवमा एमाले ब्याकग्राउन्डबाट निर्वाचित व्यक्ति हुन्। त्यसपछि अध्यक्ष पदका उम्मेदवार बनेका मैनालीले पराजय भोगेका थिए। उनले उक्त पराजयलाई पार्टीभित्रकै असहयोगका कारण भएको भन्दै आलोचना गर्दै आएका थिए।
यता, केही समयअघि मुटुसम्बन्धी समस्या देखिएपछि उपचार पश्चात उनी केही समय राजनीतिक रूपमा निस्क्रिय देखिएका थिए। स्वास्थ्य लाभसँगै पुनः सक्रिय राजनीतिमा फर्किएका मैनालीले पार्टी परिवर्तनलाई नयाँ सुरुवातका रूपमा लिएका छन्।
यसैबीच, नेपाली कांग्रेसका नेता बलराम कार्कीले पनि पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका छन्। कार्की बिर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका झापा सदस्य हुन्। विभिन्न दलबाट स्थापित नेताहरू रास्वपामा आकर्षित भइरहेका घटनाक्रमले जिल्लाको राजनीतिक समीकरण बदलिन सक्ने संकेत देखिएको छ।
