राजकुमार ओली बिर्तामोड झापा
विदेश अध्ययन भिसामा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ह्यापी एजुकेसन कन्सल्टेन्सीका सञ्चालक बद्री सिलवाललाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका–१० मा सञ्चालनमा रहेको उक्त कन्सल्टेन्सीका सञ्चालक ३२ वर्षीय सिलवाललाई माघ २० गते पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रारम्भिक अनुसन्धानबाट सिलवालले विभिन्न व्यक्तिहरूबाट करिब ६८ लाख रुपैयाँ ठगी गरेको खुलेको छ।
प्रहरीका अनुसार चितवनको राप्ती नगरपालिका स्थायी घर भएका सिलवालले अध्ययन भिसामा विदेश पठाइदिने प्रलोभन देखाएर रकम असुलेका थिए। उनले ‘पोर्चुगल पठाउने प्रक्रिया अगाडि बढिरहेको’ भन्दै एक व्यक्तिबाट मात्र २१ लाख ७० हजार रुपैयाँ जम्मा गराएका थिए। त्यसपछि कन्सल्टेन्सी बन्द गरेर सम्पर्कविहीन बनेको उजुरी प्रहरीमा परेको थियो।
अनुसन्धानका क्रममा सिलवालले कन्सल्टेन्सी बन्द गरेपछि आफ्नो नाम परिवर्तन गरी ‘केदार सिलवाल’ को नामबाट पुनः विदेश पठाइदिने भन्दै थप व्यक्तिहरूबाट रकम असुलेको पाइएको प्रहरीको भनाइ छ। परिचय लुकाएर ठगीको दायरा विस्तार गरेको आशंकामा प्रहरीले घटनालाई गम्भीर रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो। हाल उनीमाथि ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको र पीडितहरूको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
विदेश पठाइदिने नाममा हुने ठगीका घटनाहरू पछिल्ला वर्षहरूमा बढ्दै गएकाले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा निगरानी र कानुनी कारबाही गरिने प्रहरीको भनाइ छ। प्रहरीले वैदेशिक अध्ययन तथा रोजगारीका नाममा रकम माग गर्ने कन्सल्टेन्सीप्रति सजग रहन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।
प्रहरीका अनुसार यस प्रकरणमा थप पीडितहरू हुन सक्ने आशंकामा अनुसन्धान विस्तार गरिएको छ भने घटनामा संलग्न अन्य व्यक्ति भए–नभएकोबारे पनि खोजी भइरहेको छ।
