राजकुमार ओली,दमक, असोज १६ (पूर्व खबर)
– भदौ २४ गते जेन्जी आन्दोलनताका भएको आगजनीले माओवादी नेता गगन पुरीको दमक–८ बालुवाटारस्थित घर खरानीजस्तो बनेको छ।
तीनतले पक्की संरचना भएको घरको पर्खाल अझै कालो धुवाँले ढाकिएको छ, कोठाभित्रका भित्तामा आगोले छोएका दाग अझै देखिन्छन्। फुटेका सिसा, भत्किएका पर्खाल र खरानीका टकटक आवाजहरूले त्यो दिनको विभत्सता झल्काइरहेकै छ।
पुरी परिवारको संघर्ष भने यसैमा सीमित छैन। पुर्खादेखिको बसाइँ, विस्थापन र पुनःस्थापनाको कथा यस घरसँग जोडिएको छ।
गगन पुरीका बुबा भगवान पुरीले करिब ७८ वर्षअघि, २००४ सालतिर, दमक–६ मा करिब ६० विघा जंगल फडानी गरी खेतीयोग्य जमिन बनाएका थिए। तत्कालीन सरकारले २०२१ सालमा सो मध्ये २९ विघा जग्गाको धनी पुर्जा दिएको थियो। त्यही समयमा भगवान पुरीले दमकको भृकुटीचोकमा काठको चारतले घर निर्माण गरी आइस उद्योग सञ्चालन गरेका थिए, जुन तत्कालीन समयमा झापाको पहिलो आइस उद्योग मानिन्थ्यो।
तर, २०४३ सालमा आएको रतुवा खोलाको बाढीले पुरी परिवारको जमिन र घर बगायो। त्यसपछि विस्थापित पुरी परिवार भृकुटीचोककै काठे घरमा बस्न थाले। दुर्भाग्यवश, त्यो घर पनि पछि आगजनीको शिकार भयो। संघर्ष र पुनःउठानको लामो यात्रापछि गगन पुरीले दशौँ वर्षको श्रम र लगानीले बालुवाटारमा हालको तीनतले घर निर्माण गरेका थिए।
तर, जेन्जी आन्दोलनताका भएको आगजनीले फेरि एक पटक परिवारलाई सडकमा ल्याइदिएको छ। घर पूरै क्षतिग्रस्त हुँदा उनीहरू अहिले कठिन परिस्थितिबाट गुज्रिरहेका छन्।
यसबीचमा दशैं पर्व सुरु भएको छ। पर्वलाई विपत्तिले रोके पनि संस्कृति र परम्परा भने रोकिन्न भन्ने सोचसहित पुरी परिवार यस वर्ष पनि जलेको यही घरमै दशैं मनाउन थालेको छ। हिजो अष्टमीदेखि नै परिवार खरानी टकटकाउँदै, मुस्किलले प्रयोगयोग्य दुई कोठामा बसेर पूजाआजा थालेको छ।
“घर त जलेर अस्तव्यस्त छ, तर पर्व छाडेर बस्न सकिँदैन। परिवारसँग सँगै बसेर दशैं मनाउनु नै ठूलो कुरा हो,” नेता पुरीले भने। उनका अनुसार, यसपटक ठूलो भोजभतेर वा धुमधाम हुने छैन। तर, परिवारको एकता र संस्कृतिको निरन्तरता भने यथावत् रहनेछ।
उनले दशैंको मुख्य दिनमा टीका–जमरा लगाउने, दुर्गा पूजापाठ गर्ने र आफन्तसँग भेटघाट गर्ने परम्परा जोगाइने बताए।
पुरी परिवारले भोगेको पीडामा समाजका धेरै शुभेच्छुकले साथ दिएका छन्। आगजनीपछि विभिन्न मित्र, आफन्त र सहयोगीहरूले फोन, सन्देश र भेटमार्फत सान्त्वना दिएका छन्। दशैंमा पनि साथीभाइ र आफन्त आउने तयारी भइरहेको छ। कतिपयले सिलिङ फ्यान, लुगा, तन्ना, झुलजस्ता सामान सहयोग गरेका छन्।
घरमा आगजनी हुनु अघि जेन्जी नाममा आएका समूहले लुटपाट पनि गरेको पुरीको दाबी छ। लुटपाटमा ग्यास, चुलो र घडीहरू चोरी भए पनि केही सामान फिर्ता भएको उनले बताए। “सिसी क्यामेराको फुटेजको आधारमा ग्यास चुलो र ग्यास फिर्ता भएको छ। तीनवटा घडीमध्ये एउटा पनि फर्काइएको छ,” उनले जानकारी दिए।
यी घटनापछि गाउँले र स्थानीयले सहयोग गरेका कारण परिवारलाई फेरि आशा पलाएको छ।
पुरीले भने, “समाजमा जे भए पनि दशैंले सबैलाई एकत्रित गर्छ। यो दशैंले हामीलाई सहनशीलता र आशाको पाठ पढाइरहेको छ।”
गगन पुरी तत्कालीन माओवादी पृष्ठभूमिबाट नेतृत्वमा आएका नेतामध्ये एक हुन्। विगतमा परिवारलाई पटक–पटक विस्थापित र पीडित बनाउने घटनाले राजनीतिक संघर्षको मूल्य कस्तो हुन्छ भन्ने स्मरण दिलाउने उनले बताए।
जलेको घर र त्यसमा बस्दै दशैं मनाउँदै गरेका पुरी परिवारको कथा अहिले स्थानीय समाजमा चर्चाको विषय बनेको छ। यो दृश्यले आन्दोलनकालीन घाउ र अस्थिर राजनीतिको स्मरण गराउँछ भने अर्कोतर्फ परिवार र संस्कृतिको निरन्तरता कसरी विपत्तिबाट पनि जोगाइन्छ भन्ने सन्देश पनि दिन्छ।
राष्ट्रिय पर्व विजयादशमीले हरेकलाई परिवारसँग जोड्ने परम्परा बोक्छ। पुरी परिवारका लागि यो पर्व पीडाभन्दा पनि सहनशीलता, पुनःउठान र आशाको प्रतीक बनेकोछ ।