झापा – पछिल्लो समय निरन्तर वर्षा भएसँगै मेची, कन्काई, बिरीङलगायतका प्रमुख नदीहरूमा पानीको बहाव बढेको छ।

यसले जिल्लाभरि डुवान र पहिरोको जोखिम उच्च बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोपालकुमार अधिकारीले शनिबार एक सूचना जारी गर्दै असोज १८, १९ र २० गते अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन सुझाव दिएका छन्।

उनले मौसम विभागको चेतावनीलाई उद्धृत गर्दै यस अवधिमा विशेषगरी भीषण वर्षा हुने सम्भावना भएकाले लामो दूरीको यात्रा अझै जोखिमपूर्ण हुने बताए।

सूचनामा झापाबाट काठमाडौं जाँदा प्रयोग हुने वीपी राजमार्ग, कान्ति लोकमार्ग, हेटौंडा–कुलेखानी–दक्षिणकाली सडक, त्रिभुवन राजपथ तथा चितवन–मुग्लिन–नौबिसे सडकखण्डका विभिन्न भागमा निरन्तर पहिरो जाने क्रम रहेको उल्लेख छ। यी क्षेत्रमा रात्रीकालीन यातायात रोक लगाइएको हुँदा नागरिकलाई अनिवार्य नगरेसम्म रातिको यात्रा नगर्न आग्रह गरिएको छ।

यस्तै, मेची, बिरीङ, कन्काई, रतुवा लगायतका नदी किनारमा बसोबास गर्ने परिवारलाई आवश्यक औषधि, लगाउने कपडा, लालपूर्जा, नागरिकता, नगद, गरगहना लगायतका बहुमूल्य सामग्री सुरक्षित पोको बनाई राख्न तथा आकस्मिक अवस्थामा तत्काल सुरक्षित स्थानतर्फ सार्न निर्देशन दिइएको छ। जोखिम क्षेत्रका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सार्न स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा सामुदायिक संघसंस्थासँग समन्वय गरी तयारी अवस्थामा रहन भनिएको छ।

जिल्ला प्रशासनले विद्यालय, सामुदायिक भवन लगायत उद्धारपश्चात् बस्न मिल्ने स्थलको सरसफाइ र तालाचावी बोकेको व्यक्तिसँग निरन्तर सम्पर्कमा रहन आग्रह गरेको छ। उद्योगी, व्यापारी, व्यवसायी एवं विपदमा सहयोग गर्न इच्छुक व्यक्तिहरुलाई पनि स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न अपिल गरिएको छ।

यता, पछिल्लो दुई दिनदेखिको वर्षाले झापाको केही दक्षिणी भागमा खेत डुबानमा परेका खबर आएका छन्। कन्काई र मेची नदीमा जलस्तर उच्च बनेको छ भने साना खोला किनारमा बसोबास गर्ने बासिन्दा सतर्क बनेका छन्। बिर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिकाले समेत स्थानीय सतर्कतामूलक सूचना जारी गरेका छन्।

प्रजिअ अधिकारीले सामाजिक सञ्जालमार्फत गलत सूचना सम्प्रेषण नगरी तथ्यमा आधारित जानकारी मात्र प्रवाह गर्न आग्रह गर्दै, “हामी सबैको सानो लापरबाहीले ठूलो क्षति निम्त्याउन सक्छ, सचेत रहनु आजको आवश्यकता हो,” भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *