बिर्तामोड,१८ असोज

बाह्रदशी गाउँपालिका–४ झापामा खोला तर्ने क्रममा एक वृद्धको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोही वडाको मुन्सी कामत टोल निवासी ६२ वर्षीय मंगलसिंह मुर्मु  बिहान ९:३० बजे घाग्रा खोलाबाट तर्न खोज्दा मृत्यु भएको हो।

प्रहरीले दिएको जानकारीअनुसार खोलाको तीव्र वहावबीच तर्न खोज्दा मुर्मुको खुट्टा चिप्लिएको थियो। डुबिरहेको अवस्थामा स्थानीयले देखेपछि घरतर्फ लैजाने प्रयास गरिएको तर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको टोली घटनास्थल पुगेको थियो। प्रहरीले मृतकको शव उठाएर आवश्यक प्रक्रिया पूरा गरी झापास्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि लगेको थियो। पोष्टमार्टमपछि शव मृतकका छोरा श्याम मुर्मुलाई बुझाइएकाे प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण हाल झापाका अधिकांश खोलानाला र नदीमा पानीको सतह बढेको छ। खोलापुल नजिकै वा खोला तर्ने क्रममा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

यसैक्रममा जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गर्दै आगामी असोज १८, १९ र २० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेषगरी अत्यावश्यक कामबाहेक अनावश्यक यात्रामा ननिस्कन, जरुरी परे छोटो दूरीमा मात्रै सुरक्षित आवागमन गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ।

हालै देखिएका लगातारकाे वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, डुवान र भूस्खलनको जोखिम बढेको छ। यसैबीच, स्थानीय बासिन्दाले हरेक वर्ष बर्खामा खोलापुल नहुँदा समस्या भोग्दै आएको भन्दै यसतर्फ सम्बन्धित निकायले दीर्घकालीन ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

बाह्रदशीमा भएको यस दुःखद घटनाले फेरि एक पटक झापामा मनसुनका बेला खोलातट क्षेत्रमा देखिने जोखिमलाई उजागर गरेको छ। प्रशासन र सुरक्षाप्रहरीले सर्वसाधारणलाई सतर्क रहन र जोखिमयुक्त स्थानमा जानबाट जोगिन पुनः आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *