राजकुमार ओली इलाम, २१असोज
इलाम–२ का निवर्तमान सांसद तथा नेकपा (एमाले) का युवा नेता सुहाङ नेम्वाङ हाल इलाममा आएको बाढी–पहिरो विपद्ले उत्पन्न गरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो चासो व्यक्त गर्दै सक्रिय रुपमा सिंहदरबार स्तरमा पहल गरिरहेका छन्।

उनले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ओमप्रकाश अर्याल, साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेट गरी इलामको राहत, उद्धार र पुनःस्थापनाका कार्यहरू प्रभावकारी बनाउन आग्रह गरेका छन्।

नेता नेम्वाङले इलामका विभिन्न स्थानमा गएको पहिरो र निरन्तरको वर्षाका कारण दर्जनौं घर परिवार विस्थापित भएको, सडक, विद्युत् लाइन र खानेपानी प्रणाली अवरुद्ध भएको जानकारी गराएका छन्। उनले केन्द्र सरकारको ध्यानाकर्षण गराउँदै तत्काल राहत, अस्थायी बसोबास र पुनर्निर्माणका लागि आपतकालीन योजना ल्याउन माग गरेका हुन्।

भेटका क्रममा उनले मन्त्री घिसिङलाई इलामको ग्रामीण भेगमा बिधुत आपूर्तिका लाइनहरू ठप्प हुँदा स्थानीयवासी अन्धकारमा बस्नुपरेको बताउँदै ऊर्जा सेवा छिटो पुनःस्थापना गर्न निर्देशन दिन आग्रह गरे। त्यस्तै, मन्त्री अर्यालसँगको भेटमा उनले स्थानीय प्रशासन र संघीय संयोजनमार्फत राहत वितरणमा पारदर्शिता र गति ल्याउन जोड दिए।

नेम्वाङले विपद् प्राधिकरणका अधिकारीहरूसँग भेटमा भने, “इलाम अहिले संकटको घडीमा छ, तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको योजना पनि तयार हुनुपर्छ।” उनले भूस्खलन रोकथामका लागि वैज्ञानिक अध्ययन, स्थायी बासस्थानको पहिचान र स्थानीय संरचनाको दिगो योजना बनाउन सुझाव दिएका छन्।

इलामको माईजोगमाई, माई र फाकफोकथुम लगायतका क्षेत्रमा लगातारको वर्षा र पहिरोले सडक अवरुद्ध र बस्ती जोखिममा पारेको छ। स्थानीय प्रशासनका अनुसार हालसम्म दुई दर्जनभन्दा बढी घरधुरी उच्च जोखिम क्षेत्रमा रहेका छन् भने कयौं परिवार अस्थायी टहरामा बसिरहेका छन्।

स्थानीय जनप्रतिनिधिहरूले भने संघीय र प्रदेश सरकारको सहयोगमा राहत र पुनर्निर्माण कार्य अघि बढाउने तयारी भइरहेको बताएका छन्। जिल्ला विपद् व्यवस्थापन समिति इलामले पनि आपतकालीन राहत सामग्री वितरण र सुरक्षित स्थानमा स्थानान्तरण कार्य निरन्तर जारी रहेको जनाएको छ।

संसद सुहाङ नेम्वाङले भने आफू इलामको सन्तान भएको नाताले संकटकालमा इलामबासीसँगै रहने प्रतिवद्धता व्यक्त गरेका छन्। “राजनीतिक पदमा नहुँदा पनि प्रदेश र केन्द्रमा समन्वय गरेर इलामका बिपद् पीडितको आवाज बुलन्द गरिरहनेछु,” उनले भने।

इलामका बस्तीहरू अझै पहिरोको उच्च जोखिममा रहेका बेला नेम्वाङको यो पहलले स्थानीयस्तरमा आशा र विश्वास जगाएको बताइन्छ। उनका अनुसार अब सरकार र सम्बन्धित निकायले तात्कालिक राहतसँगै दीर्घकालीन दिगो समाधानको कार्ययोजना अघि बढाउनुपर्ने आवश्यकता अत्यावश्यक बनेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *